आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –८ दाँजेस्थित कुरेपानी कृषि सहकारी संस्था का अध्यक्ष भिमबहादुर महतरा, उपाध्यक्ष शशे बुढासहित १५ जनाको १५५ कित्ता अचल सम्पत्ति रोक्का रहेको छ । उक्त सहकारीले २०७४ चैत १५ मा २० लाखको कर्जा सम्झौता गरेर १० लाख मात्र निकाशा लिएको थियो । तर गत भदौसम्म साँवा, ब्याज र हर्जना समेत गरेर आठ लाख ३८ हजार ८७३ रुपियाँ नतिरेपछि सञ्चालक समिति, कर्जा समिति र लेखा उपसमितिका १५ जनाको घर जग्गा रोक्का गरिएको छ ।
यस अघि आठबिसकोट सहकारीले दुई करोड रुपैयाँ कर्जा दिएर असुल गर्न नसक्दा बचतकर्ताको पाँच लाख सहित दुई करोड रुपैयाँ डुबेको थियो । सोही पालिकाको दाजेमा रहेको कुरेपानी कृषि सहकारीले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट दश लाख रुपैयाँ ल्याएर हाल सम्म साँवा, ब्याज र हर्जना समेत बुझाएको छैन्।
पटक पटक ताकेता गरेपनी सहकारीले वेवास्ता गर्दै गएपनी सञ्चालक समितिको नाममा रहेको जग्गा जमिन रोक्का गरिएको छ । रुकुम पश्चिमका दर्जन बढी सहकारीमा रकम अपचलन भएको देखिएको छ । केही सहकारीले कर्जा ल्याएको रकम समेत सहकारीले कुन प्रयोजनका लागी खर्च गरे भन्ने समेत एकिन हुन सकेको छैन्। आठबिसकोटका अधिकांश सहकारी बन्द हुने अवस्थामा पुगेका छन्। भने केही सहकारीहरु समस्याग्रस्त अवस्थामा रहेका छन्।