साथी !
तिमी गाउँबाट सहर झर्दा
एक मुठ्ठी गाउँले माटो लिएर आउनु है
म एउटा गाउँ रोप्न चाहन्छु।
मेरो आमाले घर चोखो पार्ने
थोरै गोबर पनि नबिर्स है
म सहर लिप्न चाहन्छु।।
सुनन!!
मेरो आमाले टेकेको
पाउ मुनिको थोरै धर्ति पनि लिएर आउनु है
म भगवान चिनाउन चाहान्छु ।
साथी !!
सहर त जङ्गल भएछ ,
सम्म छ, चारैतिर भिर छ
यहाँ सिर्फ मान्छेको डर छ ।
घाम छ, बिहानी छैन
निद छ, सिरानी छैन
आकास छ, सपना छैन
गन्तव्य छ, बाटो छैन
ढुङ्गै ढुङ्गा छ, मुटु छैन
घरै घर छ, छिमेकी छैन
जन्ती छ, मलामी छैन
मन्दिर छ, भगवान छैन
साथी छ, समय छैन
भोक छ, बारि छैन
शोक छ, काँध छैन
थकान छ, चौतारी छैन।
साथी !!!
यहाँ दिन आँत्तिन्छ
रात मात्तिन्छ
यहाँ दिन मै तारा देखिन्छन्
थरीथरीका तोरिका फुल देखिन्छन्
तिमी आत्तिने भए नआऊ
तिमी मात्तिने भए नआऊ
साथी !!
तिमी दैलो कटिसकेको हो त?
जिम्मेवारीको झोला बोकिसकेको हो त ?
त्यसो भए आऊ,
फर्केर गाउँ हेर्दै आऊ
आमाको हात शिरमा राखेर आऊ
गाउँ नबिर्सने बाँचा गरेर आऊ,
गाउँ फर्किने पाइला चालेर आऊ
एकफेर ढुङ्गे धारामा जाऊ
एक अञ्जुली पानी पिएर आऊ
एकफेर चौतारीमा जाऊ
मीठो सुस्केरा हालेर आऊ
तिमी आउँदा
गाउँकै एक चिम्टी आकास पनि लिएर आउ है
म सुर्य उदाएको हेर्न चाहन्छु ।।।
म चाहन्छु
तिमी सहर टेक्दा,
तिम्रो पाउमा गाउँकै माटो होस्
झोलामा घट्टकै पिठो होस्
निधारमा गाउँले आशिर्वाद होस्
तिमीसङ्ग गाउँले भोक होस् ,
गाउँले तिर्खा होस्
यहाँ दिन नै अँधेरो हुन्छ
तिम्रो उज्यालो घरकै टुकि होस् ।।।
सहर छिरेपछि तिमी
गाउँले नै बन है
मेरै छिमेकी बन न है
मेरो बिहे हुँदा
दुनो, टपरी गाँस्न आऊ न है
मेरो घरमा जुठो पर्दा
काँध दिन आऊ न है
शहरका ढुङ्गा तिखा,चिप्ला छन्
ठेस लागेर लड्दा
हात दिन आऊ न है।।।
तिमी र म हामी बनौँ न है
हामी …हामी सङ्गै गाउँले बनौँ न है
अनि शहरलाई गाउँ बनाऔँ न है!!!
अ-बिषेक के सि