अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध ‘एक दिनमा’ अन्त्य गर्ने वाचा गरेका थिए।
उनले मध्यपूर्वमा भइरहेको सन्त्रास पनि हट्ने जिकिर गरेका थिए तर उनी राष्ट्रपति बनेर ह्वाइटहाउस पुग्नुअगावै युक्रेनले एटीएसीएमएस रणनीतिक क्षेप्यास्त्रहरू र एन्टि-पर्सनल माइनहरू प्रयोग गर्ने अनुमति पाएपछि स्थिति तनावग्रस्त भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई युद्धमा लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिएको अनुमतिले युद्धमा नयाँ मोड आएको हो।
युक्रेनलाई युद्धको शुरुमा एटीएसीएमएस प्रणाली दिइएको थियो र क्रिमिया र युक्रेनका पूर्वी भागहरूमा आक्रमण गर्न प्रयोग गर्दै आएको थिए। दुवै अन्तरराष्ट्रिय मान्यताप्राप्त युक्रेनी क्षेत्र हुन्, जुन हाल रुसी कब्जामा छन्।
रुसी सेना पूर्वी डोनबास क्षेत्रका साथै उत्तर-पूर्वमा खार्किभ क्षेत्रको कुप्यान्स्क शहर र दक्षिण-पूर्वमा ठूलो क्षेत्रीय केन्द्र जापोरिझिया शहरतर्फ अघि बढिरहेको छ। अक्टोबरमा रूसले युक्रेनी क्षेत्रको थप ५०० वर्ग किलोमिटर कब्जा गर्यो, जुन मार्च २०२२ पछिको सबैभन्दा ठूलो क्षेत्र कब्जा हो।
राष्ट्रपति जेलेन्स्कीका अनुसार अन्तरराष्ट्रिय मान्यता प्राप्त युक्रेनी क्षेत्रको २७ प्रतिशत भूभाग अहिले रुसको नियन्त्रणमा छ। यसमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया र देशको पूर्वी भाग समावेश छ। रुसले कुर्स्क क्षेत्रमा ठूलो प्रतिशोधात्मक आक्रमणको तयारी गरिरहेको बताइएको छ।
धेरै विश्लेषक र सैन्य प्रतिनिधिहरू क्रेमलिन युद्धविराम वार्ताका अगाडि नै युक्रेनी भूमि कब्जा गर्न हतारमा छन्। रूसी राष्ट्रपति पुटिन सकेसम्म चाँडो डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूको सीमामा पुग्न चाहन्छन् वा जापोरिझिया जस्ता थप क्षेत्रीय राजधानीहरू पनि कब्जा गर्न चाहन्छन्।
यस हप्ताको शुरुमा अमेरिकी राष्ट्रपति बाइडेनले किभलाई रूसी सिमानाभित्र प्रहार गर्न अमेरिकी मिसाइलहरू प्रयोग गर्ने अधिकार दिएपछि मस्कोले ‘आगोमा घ्यु हालेको’ भन्दै युद्ध चर्काएको आरोप लगाएको छ।
विश्लेषकहरूको दावीअनुसार एटीएसीएमएस मिसाइलले ३०० किलोमिटरसम्मको दायरामा युक्रेनलाई राहत दिनेछ।
पहिलो पटक युक्रेनले एटीएसीएमएस मिसाइलले रूसको हतियार भण्डारमा आक्रमण गरेको मानिन्छ। अमेरिकाले युक्रेनलाई ल्यान्डमाइन आपूर्ति गर्ने निर्णय गरेको पनि घोषणा गरेको छ तर यसका लागि अमेरिकाले युक्रेनी भूभागमा मात्र प्रयोग हुने र नागरिक जनसंख्या भएको क्षेत्रबाट टाढा रहने शर्त भने राखेको छ।
यो युद्धमा रुसले आफैँले बनाएका ल्यान्डमाइनहरू प्रयोग गर्दै आएको छ। रुसी ल्यान्डमाइन निस्क्रिय नभएसम्म खतरापूर्ण मानिन्छ। पछिल्लो साढे दुई वर्षमा बारुदी सुरुङ दुर्घटनामा करिब ३०० युक्रेनीको मृत्यु भएको बताइएको छ। रेडक्रसलगायत धेरै अन्तरराष्ट्रिय मानवीय संस्थाहरूले ल्यान्डमाइनविरोधी अभियान नै चलाइरहेका छन्।
अहिलेसम्म अमेरिका युक्रेनलाई ल्यान्डमाइन आपूर्ति गर्न हिचकिचाउँदै आएको थियो तर ट्याङ्कर नष्ट गर्ने ल्यान्डमाइन भने आपूर्ति गर्दै आएको छ।
मिसाइल आक्रमणको धम्की
युक्रेनले एटीएसीएमएस मिसाइलले रूसको हतियार भण्डारमा आक्रमण गरेपछि रुसी राष्ट्रपति पुटिनले पनि युक्रेनमाथि शक्तिशाली मिसाइलहरु परीक्षण गरिरहने चेतावनी दिएका छन्। एक टेलिभिजन सम्बोधनमा पुटिनले आफूहरुसँग मिसाइलको ठूलै भण्डार रहेको भन्दै परीक्षण गरिरहने बताएका हुन्।
पुटिनले एकपटक युक्रेनमा मिसाइल परीक्षण गरेको दावी गरेका पनि थिए। पुटिनले युक्रेनमा प्रहार गरिएको ओरेस्निक मिसाइल ध्वनीभन्दा १० गुणा बढी गतिमा लक्ष्यमा जाने भन्दै उक्त मिसाइल कसैले रोक्न नसक्ने दावी गरे।
रुसको नयाँ मिसाइल परीक्षणसँगै युक्रेनमा युद्धको स्थिति अझ जटिल बनेको छ। पुटिनको सम्बोधनअघि रुसले युक्रेनको निप्रोमा ठूलो आक्रमण गरेको थियो, जहाँ कैयौँ आवासीय भवनमा क्षति पुगेको छ। युक्रेनी अधिकारीहरुले उक्त आक्रमण अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलबाट भएको बताएका थिए।
पुटिनको पछिल्लो घोषणापछि विश्वभरका नेताहरुले रुस-युक्रेन युद्धले लिने दिशाबारे चिन्ता व्यक्त गरेका छन्। यसैबीच, युक्रेनी सेनाले पनि अमेरिकी र बेलायती मिसाइलहरु रुसका विभिन्न भूभागमा प्रहार गरेको छ।
यो महिनाको शुरुमा युक्रेनले पहिलोपटक अमेरिकाबाट पाएको आर्मी ट्याक्टिकल मिसाइल र बेलायतको स्टोर्म स्याडो मिसाइल प्रहार गरेको थियो।
डरले थर्कमान नेटो देशहरु
रूसले युक्रेनमा आफ्नो नयाँ हाइपरसोनिक क्षेप्यास्त्र ओरेस्निक प्ररीक्षण प्रहार गरेपछि नेटो देशहरूले आपत्कालीन बैठक बोलाएका थिए।
रूसको नयाँ क्षेप्यास्त्रसँग अमेरिकादेखि बेलायतसम्म सबै नेटो देशहरू चिन्तित छन्। उनीहरूको बैठकको मुख्य विषय रूसको नयाँ मिसाइलबाट उत्पन्न खतरा र युक्रेनी सेनाको हारबारे थियो।
यसअघि अमेरिका र बेलायतले युक्रेनी सेनालाई रूसी सैन्य अखडामा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गर्न स्वीकृति दिएका थिए। युक्रेनको यो आक्रमणको जवाफमा रूसले पहिलोपटक आफ्नो नयाँ हाइपरसोनिक क्षेप्यास्त्रले सफलतापूर्वक आक्रमण गरेर नेटो देशहरूलाई कडा सन्देश दिइसकेको छ।
रूसको यो क्षेप्यास्त्र केही मिनेटमै युक्रेनको दनिप्रो शहरमा पुगेर युक्रेनी सैन्य अखडा ध्वस्त पारेको थियो। पश्चिमी देशहरूले युक्रेनलाई उपलब्ध गराएको हवाई प्रतिरक्षा प्रणालीले यो आक्रमण रोक्न सकेको थिएन।
पुटिनले रूससँग यस्ता १० भन्दा बढी क्षेप्यास्त्र रहेको बताइएको छ। यो क्षेप्यास्त्रको सफलता देखेर पुटिनले यस्ता मिसाइल दर्जनौँ बनाउने घोषणा गरेका छन्।
अर्कोतर्फ पुटिनले रूसले युक्रेनमाथि मिसाइलको परीक्षण प्रहार जारी राख्ने घोषणा गरेका छन्। पुटिनको घोषणापछि धेरै विश्लेषक यो लडाइँ निकै खतरनाक हुने आशंका व्यक्त गर्न थालेका छन्।
रूसको यो जवाफी आक्रमणपछि युक्रेनको लामो दूरीको मिसाइल आक्रमण नेटो देशहरुका लागि निकै महँगो पर्ने देखिएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार रूसले यो मिसाइलमा आणविक बम पनि राख्न सक्छ। यसैबीच रूस र उसको मित्र बेलारूसले नेटोसँग भिड्ने घोषणा नै गरेका छन्।
युद्ध रोक्न ट्रम्पको भूमिका के?
आफ्नो चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले यो युद्ध कसरी अन्त्य गर्ने भनेर बताएनन्। धेरै विश्लेषकले यो द्वन्द्व अन्त्य गर्ने योजनाहरू बनिरहेको विश्वास गर्छन्।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिले आफ्नो कार्यकाल शुरु हुनेबित्तिकै युक्रेन र रुससँगको सम्झौताबारे कुरा गर्ने आशा युक्रेनले राखेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२५ मा कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्ने आफ्नो इच्छा व्यक्त गरेका छन्।
अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको विजयपछि धेरै पर्यवेक्षक उनको शान्ति योजनाको विवरण सुन्न प्रतीक्षारत छन्। उनको चुनावी विजयपछिको उनको पहिलो सम्बोधनमा केही पनि स्पष्ट थिएन, जस्तै: ‘हामी रसिया र युक्रेनसँग धेरै कडा परिश्रम गर्नेछौँ। यो रोकिनुपर्छ। रुस र युक्रेन रोक्नु पर्छ।’
अमेरिकी मिडियाका अनुसार डोनाल्ड ट्रम्पले कथित रूपमा भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्दै रुसी राष्ट्रपतिलाई युद्ध नबढाउन चेतावनी दिएका थिए तर क्रेमलिनले यसलाई अस्वीकार गरेको छ।
युक्रेनी विज्ञहरूले डोनाल्ड ट्रम्पको योजना अझै पूर्ण रूपमा तयार नभएको तर उनको टोलीले यसका लागि योजना बनाएको हुनसक्ने विश्वास गर्छन्।
युक्रेनी विदेश नीतिका थिंक ट्याङ्क ‘न्यु यूरोप’ का निर्देशक एलोना हेटमान्चुक युक्रेन र रुसले चलिरहेको युद्धको सन्दर्भमा नयाँ अमेरिकी प्रशासनको पहिलो चरणको प्रतीक्षा गर्दा कुनै पनि सम्भावित शान्ति वार्ता जटिल र लामो हुने निश्चित रहने सम्भावना बताउँछिन्।
ट्रम्पले वार्ताको नेतृत्व गर्न विशेष युक्रेनदूत नियुक्त गर्ने आफ्नो इच्छा व्यक्त गरेका छन्, जुन किभले आशाजनक सकारात्मक रूपमा हेरेको छ।
‘हामीलाई एक प्रभावशाली ‘मिस्टर युक्रेन’ चाहिन्छ जसले ट्रम्पको कानमा निरन्तर पहुँच राख्छ,’ एलोना हेटमान्चुक भन्छिन्।
‘दुवै देशहरू र तिनीहरूका नेताहरू, राष्ट्रपति जेलेन्स्की र पुटिनको यस द्वन्द्वको समाधानमा ठूलो भूमिका छ र तिनीहरूको भविष्य उनीहरू कुनै पनि वार्ताबाट कत्तिको राम्रोसँग निस्कन्छन् भन्नेमा निर्भर गर्दछ’, उनले भनिन्। यता मध्यपूर्वमा ट्रम्पको भूमिका कस्तो हुन्छ? त्यो पनि हेर्न बाँकी नै छ।
हिज्बुल्लाहले अस्वीकार गर्यो युद्ध विराम
एकातिर रूस-युक्रेन युद्धले विश्वको टाउको दुखाइरहेको बेला मध्यपूर्वमा इजरायलले लेबनान र प्यालेस्टाइनमा निरन्तर आक्रमण गरिरहेको छ। गाजा क्षेत्रमा त अहिलेसम्म करिब ४४ हजार नागरिकले ज्यान गुमाइसकेका छन् भने हिजबुल्लाहमाथिको आक्रमणले लेबनान पनि अशान्त रहेको छ।
यसैबीच हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लंघन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताइसकेका छन्।
‘हिजबुल्लाहले ‘आक्रामकताको पूर्ण र व्यापक अन्त्य’ र ‘लेबनानको सार्वभौमिकताको संरक्षण’ इजरायली शत्रुले चाहेको बेला लेबनानी क्षेत्र प्रवेश गर्न सक्दैन’, कासिमले भनेका छन्।।
‘इजरायलले हामीलाई हराउन सक्दैन र हामीमाथि आफ्ना शर्तहरू थोपर्न पनि सक्दैन’, अमेरिकी दूत अमोस होचस्टाइनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौताका लागि मध्यस्थता गर्ने बेरुतको दुईदिने भ्रमण पूरा गरेका बेला उनले भने।
उनले युद्धविराम इजरायली प्रतिक्रिया र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गम्भीरतामाथि नै निर्भर रहेको बताए। थाहा खवरबाट