जाजरकोटको नलगाड नगरपालिकामा सुरक्षित, गुणस्तरीय, समावेशी, सर्वसुलभ तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न सरोकारवालाहरूले खानेपानी सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन्।
खानेपानी सुरक्षा योजनासम्बन्धी कार्यशालामा सहभागी नगरपालिकाका उपभोक्ता समिति, मर्मतसम्भार कार्यकर्ता, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सम्बन्धित सरोकारवालाहरूले स्रोतदेखि उपभोक्ताको धारासम्म हुन सक्ने जोखिम पहिचान, मूल्याङ्कन तथा न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रतिबद्धतापत्रमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार खानेपानीको भौतिक, रासायनिक तथा जैविक परीक्षण नियमित रूपमा गर्ने, परीक्षण तथा अनुगमनको अभिलेख राख्ने र गुणस्तरमा समस्या देखिए तत्काल समाधानका लागि आवश्यक पहल गर्ने उल्लेख गरिएको छ। आवश्यकताअनुसार खानेपानीको विसंक्रमण (Disinfection) सम्बन्धी कार्ययोजना समेत लागू गरिने जनाइएको छ।
त्यस्तै, खानेपानीका मुहान, मूलाधार क्षेत्र, वितरण प्रणाली तथा अन्य संरचनाको संरक्षण गर्दै सम्भावित प्रदूषण र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने प्रतिबद्धता गरिएको छ। बाढी, पहिरो, भूकम्प, खडेरी, जलवायु परिवर्तन तथा अन्य विपद्का कारण खानेपानी सेवामा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी पूर्वतयारी तथा व्यवस्थापन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।
प्रतिबद्धतापत्रमा खानेपानी सेवामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागिता सुनिश्चित गर्ने उल्लेख छ। खानेपानी सुरक्षा योजनाका गतिविधिलाई स्थानीय तह तथा उपभोक्ता समितिको नियमित योजना, बजेट, अनुगमन र निर्णय प्रक्रियासँग आबद्ध गर्ने भनिएको छ।
खानेपानी प्रणालीको सञ्चालन, नियमित मर्मतसम्भार र सेवा निरन्तरताका लागि नगरपालिकाको सेवा सहायता केन्द्रलाई संस्थागत गर्दै उपभोक्ता समिति, स्थानीय तह र प्राविधिक जनशक्तिको भूमिका तथा जिम्मेवारी स्पष्ट बनाउने प्रतिबद्धता पनि गरिएको छ।
त्यसैगरी, खानेपानी सेवा प्रदायक उपभोक्ता समितिहरूलाई संस्थागत रूपमा आत्मनिर्भर बनाउन खानेपानी महसुल निर्धारण तथा कार्यान्वयनमा जोड दिँदै नियमित र निरन्तर सेवा प्रवाहका लागि मर्मतसम्भार कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
सरोकारवालाहरूले खानेपानी सुरक्षा योजनालाई एकपटक गरिने गतिविधिका रूपमा मात्र नभई निरन्तर अनुगमन, समीक्षा र सुधार गरिने नियमित व्यवस्थापन प्रक्रियाका रूपमा अघि बढाउने बताएका छन्।
प्रतिबद्धतापत्रमा उल्लेखित विषयलाई आ–आफ्नो भूमिका, जिम्मेवारी र कार्यक्षेत्रअनुसार कार्यान्वयन गर्दै नलगाड नगरपालिकामा सुरक्षित, भरपर्दो, समावेशी तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न सामूहिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस्तो छ प्रतिबद्धता
१.खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म हुन सक्ने जोखिमहरू पहिचान, मूल्याङ्कन तथा न्यूनीकरण गर्न खानेपानी सुरक्षा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ ।
२.रास्ट्रिय खानेपानी गुणस्तर मापदण्ड ले तोकिएको भौतिक , रसायनिक र जैविक परिक्षणमा उल्लेखित खानेपानीको गुणस्तर बमोजिम नियमित रूपमा परीक्षण, अनुगमन तथा अभिलेखीकरण गर्ने र देखिएका गुणस्तरसम्बन्धी समस्या समयमै समाधान गर्न आवस्यकता अनुसार बिसंक्रमण (Disinfection Plan) कार्य योजना आवश्यक पहल गर्नेछौँ ।
३.खानेपानीका मुहान, मुलाधार क्षेत्र, वितरण प्रणाली लगायत सम्पूर्ण संरचनाहरुको संरक्षण गर्दै सम्भावित प्रदूषण तथा अन्य जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेछौँ ।
४.बाढी, पहिरो, भूकम्प, खडेरी, जलवायु परिवर्तन तथा अन्य विपद्का कारण खानेपानी सेवामा पर्न सक्ने जोखिम पहिचान गरी आवश्यक पूर्वतयारी तथा व्यवस्थापन गर्नेछौँ ।
५.खानेपानी सेवामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागिता सुनिश्चित गर्नेछौँ ।
खानेपानी सुरक्षा योजनाका कार्यहरूलाई स्थानीय तह तथा उपभोक्ता समितिको नियमित योजना, बजेट, अनुगमन तथा निर्णय प्रक्रियासँग आबद्ध गर्नेछौँ ।
६.खानेपानी प्रणालीको सञ्चालन, नियमित मर्मतसम्भार तथा सेवा निरन्तरताका लागि पालिकाको सेवा सहायताकेन्द्र लाइ संस्थागत गर्दै मर्मत सम्भार कार्यविधिमा उल्लेखित सेवा सर्तमा रही उपभोक्ता समिति, स्थानीय तह तथा सम्बन्धित प्राविधिक जनशक्तिको भूमिका र जिम्मेवारी स्पष्ट गर्नेछौँ ।
७.खानेपानी सुरक्षा योजनाको कार्यान्वयनका क्रममा पहिचान भएका जोखिम, समस्या तथा सुधारका विषयहरूलाई सम्बन्धित सेवा प्रदायक उपभोक्ता समितिहरुको सस्थागत आत्मनिर्भरतामा जोड दिन खानेपानी महसुल निर्धारण देखि कार्यन्वयन गर्दै सेवा प्रबाहको नियमित र निरन्तरताका लागि मर्मत सम्भार कार्यविधिलाइ चुस्तदुरुस्त कार्यन्वयन गर्दै सम्बन्धित निकाय तथा संस्थागत संयन्त्रमामार्फत समयमै सम्बोधन गर्नेछौँ ।
८.खानेपानी सुरक्षा योजनालाई एकपटक गरिने गतिविधिको रूपमा नभई निरन्तर अनुगमन, समीक्षा र सुधार गरिने नियमित व्यवस्थापन प्रक्रियाका रूपमा अघि बढाउनेछौँ।
९.यस प्रतिबद्धतापत्रमा उल्लेखित विषयहरूलाई आ–आफ्नो भूमिका, जिम्मेवारी तथा कार्यक्षेत्रअनुसार कार्यान्वयन गर्दै पालिकामा सुरक्षित, भरपर्दो, समावेशी तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न सामूहिक प्रयास गर्नेछौँ।