बुवा
आफ्ना रहरहरू थन्क्याएर
हाम्रा सपना सजाउने मान्छे
आफू घाममा जलेर
पसिना र झरीले गलेर
हामीलाई छहारी दिने मान्छे!!
बुवा!
हामी हाँस्दा
तपाईंको आँखामा खुसी किन आउँछ?
हामी रमाउँदा
तपाईंको मन किन रमाउँछ?
आफ्नै सपनाहरू जलाएर
हाम्रा लागि उज्यालो छर्न
कुन दीपले सिकायो तपाईंलाई?
आफ्ना चाहनाहरू घटाउँदै
हाम्रा रहरहरूको जोडफल निकाल्न
कसले सिकायो ?
हामीले मागेका कुरा
सम्भव भएसम्म पूरा गर्नुभयो,
तर आफ्ना चाहनाहरू भने
कहिल्यै हामीसँग भन्नुभएन
किन?
समय बित्दै गयो
कपालमा सेतोपन भरिँदै गयो
अनुहारमा उमेरका रेखाहरू कोरिँदै गए
तर सन्तानप्रतिको तपाईंको माया
न कहिल्यै थाक्यो
न कहिल्यै पुरानो भयो।
आखिर
यस्तो निःस्वार्थ माया
कहाँबाट ल्याउनुहुन्छ, बुवा?
तपाईं भन्नुहुन्छ
“पढ्, पढ्… ठूलो मान्छे बन।”
तर बा,
मैले तपाईंलाई नै पढ्न नपाएको
वर्षौँ भइसक्यो।
तपाईंको निधारका चाउरीमा
मैले संघर्ष पढ्न बाँकी छ
हातका ठेला र फुटेका नङमा
मैले त्याग पढ्न बाँकी छ
पसिनाले भिजेको तपाईंको शरीरमा
मैले हाम्रो भविष्य पढ्न बाँकी छ।
बा,
तपाईं आफैं मेरा लागि
एउटा खुला विश्वविद्यालय हुनुहुन्छ
जहाँ हरेक दिन
जीवनको एउटा नयाँ पाठ पढिन्छ—
मेहनतको
इमानदारीको
त्यागको
र निःस्वार्थ मायाको।
तपाईंले कहिल्यै
ठूला–ठूला शब्दमा प्रेम गर्नुभएन
तर तपाईंको मौनताभित्र
हजारौँ प्रेमका कथा छन्।
तपाईंले कहिल्यै
“म थाकें” भन्नुभएन,
तर तपाईंका थाकेका आँखाले
हामीलाई धेरै कुरा भनिरहेका छन्।
बुवा,
तपाईंको पसिनाको मूल्य
कुनै शब्दले तिर्न सक्दैन
तपाईंले दिएको संस्कार र माया
कुनै धनले किन्न सक्दैन।
आज म जहाँ छु
त्यहाँ मेरो मेहनतको केही हिस्सा होला
तर मेरो हरेक पाइला पछाडि
तपाईंको आशीर्वाद छ।
मेरो हरेक सफलताको पछाडि
तपाईंका अधुरा रहरहरू छन
मेरो हरेक मुस्कान पछाडि
तपाईंको मौन त्याग छ।
जिन्दगीले मलाई
जहाँसुकै पुर्याओस
समयले मलाई
जति नै ठूलो बनाओस
मलाई सधैं त्यही बच्चा भएर रहन दिनु
जसको टाउकोमा
तपाईंको हात होस्
र जसको मनमा
तपाईंको आशीर्वाद।
भगवान् कहाँ छन भनेर
कसैले सोध्यो भने
म कुनै मन्दिर देखाउने छैन
म तपाईंलाई देखाउनेछु बुवा!
किनकि?
मैले भगवान् देखेको छैन
तर तपाईंको त्याग देखेको छु
तपाईंको माया महसुस गरेको छु
र तपाईंको संघर्षमा
भगवान्को रूप देखेको छु!!
जे होस् बा,
जीवनमा अरू केही पाऊँ या नपाऊँ
तपाईंको माया
सधैं पाइराख्न सकूँ।
किनकि
बुवा, तपाईं हुनुहुन्छ र त
मेरो संसार अझै पूरा छ!!
तपाईंको छायाँ रहुन्जेल
मलाई आकाश पनि चाहिँदैन
संसार पनि चाहिँदैन
तपाईंको हात
मेरो टाउकोमाथि रहिरहोस्
बुवा
तपाईंको छायाँ नै
मेरो सबैभन्दा ठूलो संसार हो
र म संग मेरो आफ्नै संसार भए
म दुनियाको संसार जित्न कहिल्यै थाल्ने छैन।
कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिनको पुजनिय पिता लगायत नातामा बा पर्नुहुने सम्पुर्ण बा हरुमा हार्दिक नमन!