नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको १५औँ महाधिवेशन अब कुनै पनि हालतमा सार्न नसकिने बताएका छन् । बिहीबार बुटवलमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सञ्चालनमा ल्याएको सम्पर्क कार्यालय उद्घाटन गर्दै पुनले कानुनी व्यवस्थाका कारण पनि महाधिवेशन आगामी असोजमै सम्पन्न गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
उनले महाधिवेशनलाई मङ्सिरसम्म सार्ने सम्भावना नरहेको स्पष्ट पारे । अदालतमा मुद्दा विचाराधीन रहेकाले पनि महाधिवेशनको प्रक्रिया थप लम्ब्याउन नमिल्ने उनको भनाइ छ । ‘अर्को पक्षले मुद्दा फिर्ता लिएर सहमति भएको अवस्थामा मङ्सिरसम्म लम्ब्याउन पार्टी नेतृत्वलाई छुट हुन सक्थ्यो । तर अब त्यो सम्भावना टरिसकेको छ,’ पुनले भने ।
उनका अनुसार कांग्रेसको वडा अधिवेशन असोज ३ गतेदेखि सुरु हुँदैछ । वडा अधिवेशनसँगै महाधिवेशनको प्रक्रिया अघि बढ्ने उनले बताए । पुनले पार्टीभित्र देखिएका समस्या संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिए । आन्तरिक मतभेद भए पनि त्यसलाई संवादमार्फत टुङ्ग्याउँदै आगामी महाधिवेशनलाई एकताको अधिवेशनका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
गगनकुमार थापालाई सर्वसम्मत बनाउने होस् वा प्रतिस्पर्धाबाटै नेतृत्वमा ल्याउने होस्, उहाँलाई सभापति बनाउने वातावरण हामीले सिर्जना गर्नुपर्छ,’ पुनले भने । सभापति पुनले आगामी महाधिवेशन हर्ष, उत्साह र एकताका साथ सम्पन्न गर्ने गरी तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।