कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाल भलिबल लिग (एनभिएल) मा विजयी सुरुवात गरेको छ।
कर्णालीले अन्नपूर्ण स्पाइकर किंग्सलाई ३-१ ले पराजित गर्दै लिगमा विजयी सुरूवात गर्न सफल रह्यो। पहिलो सेट कर्णालीले २५-२२ ले जित्यो। एक सेट गुमाएको अन्नपूर्ण दोस्रो सेटमा खेलमा फर्कियो। २५-१९ ले अन्नपूर्णले दोस्रो सेट जित्दा खेल १-१ को बराबरीमा पुग्यो।
तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। जहाँ २६-२४ को स्कोरमा कर्णाली बाजी मार्न सफल भयो। यसपछि चौथो सेट २५-२२ ले जित्न कर्णाली सफल रह्यो।
यसअघि सगरमाथाले मधेश वारीयर्सलाई ३-१ को सेटमा माथ दिएको थियो। पहिलो दिन कर्णाली र सगरमाथा जित निकाल्न सफल रहे।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भोलि पनि दुई खेल हुनेछन्। पहिलो खेलमा काठमाडौं रेड्स र मधेश वारियर्स तथा दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्सबीच प्रतिस्पर्धा हुनेछ ।
केडिया ग्रुपद्वारा आयोजित लिगमा कुल ६ टिमको सहभागिता रहेको ढ। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख प्राप्त गर्नेछ। नेपाली भलिबलमा यो अहिलेसम्म कै सर्वाधिक नगद पुरस्कार हो।
भदौ २७ गतेसम्म कभर्डहलमा हुने एनभीएलमा ६ टोलीले सिंगल राउन्ड रोबिन लिग खेल्नेछन्। लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।