पोखरा । वासना कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको नेपाली कथानक चलचित्र “हितको माया”को विशेष प्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ ।
श्रीकृष्ण सिनेमा हल तेर्सापट्टी पोखरामा प्रदर्शन गरिएको उक्त चलचित्रको विशेष शो हेर्न दर्शकहरुको भिड लागेको थियो भने चलचित्र हेरिसकेपछी दर्शकहरुको प्रतिक्रिया पनि निकै सकारात्मक पाइएको चलचित्र निर्माण पक्षको भनाई छ ।
लामो समय देखि नेपाली गीत संगीत र चलचित्र क्षेत्रमा योगदान पुर्याउदै आएका निर्माता, लेखक ,निर्देशक तथा सम्पादक मनोज बिक भावुकले ठूलो पर्दामा आफ्नो पहिलो प्रस्तुतिको रुपमा निर्माण गरेको चलचित्र “हितको माया”लाई विशेष प्रदर्शनमा दर्शकहरुले देखाएको माया र प्रतिक्रियाहरुले आफुलाई धेरै नै हौसला मिलेको र भोलि देशभर प्रदर्शन हुँदा पनि यत्तिकै साथ र मायाको अपेक्षा रहेको बताएका छन ।
पोखरा लगायत स्याङ्जाका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको चलचित्रमा त्याग समर्पण आवेग र प्रतिशोधको प्रेमलाई दर्शाउन खोजिएको छ । निकै सरल शैलीमा बगेको कथामा रहस्य नै रहस्यहरु छन ती सबै रहस्यलाई बुझ्न दर्शकहरु हलसम्म पुगेर चलचित्र हेर्नै पर्ने समेत निर्देशक भावुकले बताए भने चलचित्रमा सामाजिक प्रसंग पनि उठाएर सन्देश दिन खोजिएको छ ।
गत चैत्र १५ देखि छायांकन सुरु भएको चलचित्र हितको माया सम्पुर्ण प्राविधिक कामहरु सकिए लगत्तै विशेष प्रदर्शन गरिएको थियो भने विशेष प्रदर्शनको लक्ष्य चाहिँ चलचित्र प्रती आफ्नो मिहेनतमा दर्शक तथा अन्य उपस्थित कलाकारहरुको प्रतिक्रिया लाई आत्मसाथ गर्नु थियो । तर देशको विषम परिस्थितिका कारण विशेष प्रदर्शन अगाडि चलचित्र निर्माण टिमले प्रदर्शनको अघिल्लो दिन नै बाढीपीडितहरुलाई सहयोग गर्ने घोषणा गरेबमोजिम अहिले “प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष”मा रकम हस्तान्तरण गर्ने तयारी रहेको बताइएको छ ।
चलचित्र अब छिट्टै देशका विभिन्न हलमा एकसाथ प्रदर्शन गर्ने तयारी अगाडि सारिएको छ भने चलचित्रका निर्माता ,लेखक ,निर्देशक तथा सम्पादक मनोज बिक भावुक हुन भने चलचित्रलाई सुवास सुबेदीले छायांकन गरेका हुन उनलाई सन्तोष पौडेलले साथ दिएका छन साथै सहायक निर्देशनमा गम्भीर रानामगर ,सुचेन्द्र परियार र रेशम नेपाली रहेका छन भने हरि पौड्याल र अमृत देवकोटाले प्रकाश पारेका छन श्रिङ्गारमा जय गुरुङले कलाकारहरुलाई श्रिङ्गारेका छन ।
चलचित्रको मुख्य भुमिकामा अरिद थापा र प्रतिमा गुरुङ रहेका छन भने नबिना गुरुङ ,कृष्ण गुरुङ ,तिल गुरुङ चित्रे , श्याम पुन मगर , भिम कुमारी गुरुङ , इश्वर गुरुङ ,रविना गुरुङ लगायत अन्य कलाकारहरुले साथ दिएका छन । चलचित्रमा ३ वटा गीत र ३ वटा फाइट पनि समावेश गरिएको छ जसमा गीत तर्फ मिलन गुरुङ , प्रिया गुरुङ र उषा गुरुङले आवाज दिएका छन भने मनोज बिक भावुक र सौगात आशकले शब्द सृजना गरेका छन साथै राजेश विष्टले एरेन्ज गरेका थिए । सबै गीतमा युवराज गुरुङको नृत्य निर्देशन रहेको छ । चलचित्रमा सचिन तामाङले द्वन्द निर्देशन गरेका छन ।
चलचित्र “हितको माया” निर्माणका लागि पार्श्व संगीत तथा ध्वनी मिश्रण बिनोद रसाइलीले गरेका छन भने सहायक पार्श्व संगीतमा बवी दियाली रहेकी छन साथै चलचित्रमा सगुन तामाङले रङ भरेका छन । यसैगरी यो चलचित्र निर्माणको सम्पुर्ण व्यवस्थापन भरत अधिकारी र सुजन वि.क.ले सम्हालेका थिए ।