रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ४ स्थित तिल्चा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मङ्गलवार करिव अपराह्न ४ तिल्चा खोला तर्ने क्रममा मुसिकोट खलङ्गा देखी कुनाखेत हुँदै स्यार्पुताल जाँदै गरेको मोटरसाइकल सहित चालक र पछाडि बसेका व्यक्तिलाई बगाएको प्रहरीले जनाएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङका १८ वर्षीय प्रशान्त सन्यासी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।
मोटरसाइकलमा पछाडि बसेका गोकुलगंगा गाउँपालिका रामेछापका १८ वर्षीय प्रवीण बस्नेत भने खोलाको बिचमा रहेको ढुङ्गामा अड्किएको र अस्थायी प्रहरी पोस्ट छिनखेतबाट खटिएको प्रहरी टोलीले सकुशल उद्धार गरेको बताइएको छ।
सन्यासीले चलाएको रा.६ प.१६१८ नम्बरको मोटरसाइकल स्यार्पुतालबाट बगेर आएको तिल्चा खोलाले बगाएको उहाँको भनाई छ । बेपत्ता सन्यासीको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ । खोलामा बगेका व्यक्तिको खोजीकार्य भैरहेको छ।