काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सुरक्षाकर्मीले खोजी गर्ने क्रममा बेत्रावतीस्थित एउटा पुरिएको घरबाट ठूलो संख्यामा शव फेला पारेका हुन् । प्रारम्भिक विवरणअनुसार मृतकमध्ये १३ जना महिला, ११ जना पुरुष र एक बालक रहेको बताइएको छ ।
यद्यपि शवको संख्या र पहिचानबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षा र रात परिसकेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार घरको एउटै कोठामा ठूलो संख्यामा शव फेला परेका छन्। केही शव निकालिए पनि अन्य शव अझै सोही स्थानमा रहेको उनले बताएका छन् ।
प्रहरीका अनुसार अधिकांश शव पहिचान गर्न कठिन हुने अवस्थामा छन्। पहिचान खुल्न नसकेका शवलाई पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
बाढीबाट ठूलो मानवीय क्षति भएको नुवाकोटमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । उक्त घरमा मंगलबार बिहान थप खोजी तथा उद्धारको काम अघि बढाइने प्रहरीले जनाएको छ ।