रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ स्थित सिमली नजिकै आज बिहान इभी गाडीको ठक्करबाट एकै घरका आमा छोरीको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिम्लीबाट चौरजहारी तर्फ गइरहेको इभी गाडीले ठक्कर दिँदा आमा छोरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ बलेटक्सार घर भई हाल लक्ष्मी सनराईज बैङ्क मुसिकोट खलंगामा कार्यरत घनश्याम ज्ञवालीकी श्रीमती २६ बर्सिया स्वस्तिका पौडेल र उहाँकी छोरी २ बर्सिया शान्दिका ज्ञावली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।
सानीभेरी गाउँपालिका ३ चौखेका २२ वर्षीय अम्मर वि.क.ले चलाएको भे.१ज.१४८२ नं.को ईभी गाडीले आमा छोरी दुवैलाई ठक्कर दिएको र दुर्घटनामा गम्भीर घाइते आमा छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको र आज बिहान ९ः३० बजे डाक्टरले मृत घोषणा गरेको बताईएको छ।