काठमाडौं । प्रतिनिधि सभामा सरकार र आफ्नै पार्टीका सांसदबीच देखिएको असमझदारी बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीसहितको संसदीय दलको बैठक तथा अन्तरक्रिया आयोजना गरेको छ ।
बुधबार (आज) बिहान ११ बजे पार्टीको संसदीय दलको कार्यालयमा बस्ने यस बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ ।
पछिल्लो समय संसद्मा देखिएका गतिविधि र सरकार तथा सांसदबीचको सम्बन्धका विषयमा गम्भीर समीक्षा हुने बताइएको छ । संसद्को पछिल्लो घटनाक्रम र अनुशासनको प्रश्न संसद्मा सांसदहरूले प्रयोग गर्ने भाषा, सार्वजनिक अभिव्यक्ति तथा प्रस्तुति थप मर्यादित हुनुपर्ने विषयमा पार्टीभित्रै असन्तुष्टि बढेको नेताहरूको भनाइ छ ।