सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिकै जिप दुर्घटना हुँदा चालक र जिप मालिक बेपत्ता भएका छन्। छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत बुधबार लु १ ज ३०२२ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल भेरी नदीमा खसेको हो।
प्रहरीका अनुसार बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा जिपका चालक र मालिक भेरी नदीमा बेपत्ता भएको बताइएको छ।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।
जिप भेरी नदीमा खसेपछि स्थानीयवासी र प्रहरीले बेपत्ताको खोजी तथा उद्धार कार्य अघि बढाएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।