रुकुम पश्चिम। आठबिसकोट नगरपालिकाले नगर अस्पतालको सभाहलमा स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी गतिविधिमा मात्र सीमित गरी अन्य सबै प्रकारका कार्यक्रम निषेध गर्ने निर्णय गरेको छ। पछिल्लो समय स्वास्थ्यबाहेक गतिविधि बिभिन्न पार्टीका कार्यक्रम बढ्दै गएको र त्यस्ता कार्यक्रमले सेवा प्रवाहमा असर पर्ने जनाउँदै नगरपालिकाले नयाँ निर्देशन जारी गरेको हो।
नगरपालिकाका अनुसार अबदेखि सभाहलमा उपचार सेवा, स्वास्थ्य शिक्षा, तालिम, गोष्ठी तथा स्वास्थ्य सम्बन्धित बैठक मात्र सञ्चालन गर्न अनुमति दिइनेछ। राजनीतिक सभा, सामाजिक भेटघाट, सांस्कृतिक प्रस्तुति, व्यावसायिक प्रमोशन लगायत स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नपर्ने कुनै पनि कार्यक्रम पूर्ण रूपमा निषेध गरिने भएको छ।
आठबिसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जारी गरेको पत्रमा अस्पतालको सभाहलमा स्वास्थ्य सम्बन्धिका कार्यक्रम बाहेक अन्य कुनैपनी कार्यक्रम गर्न नदिन नगर अस्पताललाई निर्देशन गरिएको छ। यस अघि बिभिन्न राजनीतिक दलका कार्यक्रमहरु हुँदै आएका थिए। अस्पताल उपचारको केन्द्र भएकाले सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले यो कदम चालिएको नगरपालिकाले जनाएको छ । –
