रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगर अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । पछिल्लो ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् ।
यहाँको अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दैनिक दुई सय देखि तीन सय हाराहारी मा बिरामी अस्पताल आउन थालेका छन्।
अस्पतालका डाक्टर दिनेश साहका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए । उनले भने अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ ।

‘अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुन थालेको आठबिसकोट नगरपालिका-९ का वडाअध्यक्ष जनक बहादुर बटालाले जानकारी दिए । अस्पतालको इमर्जेन्सी कक्ष अहिले वार्ड जस्तै भएको छ । भौतिक संरचना र जनशक्तिको कमीका कारण अस्पतालमा बिरामीलाई राख्न बेड समेत अभाव हुने गरेको अध्यक्ष बटालाले जानकारी दिए ।
नियमित अस्पताल आउने बिरामी बाहेक दैनिक २ सय देखि ३ सयको सङ्ख्यामा बिरामीहरु अस्पताल आउने गरेको अस्पतालले जनाएको छ । मौसममा देखिएको परिवर्तन सँगै विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइसोलेसन वार्डमा समेत राखेर उपचार गर्नुपर्ने बाध्यता भएको बताइन्छ ।