डोल्पामा बिधालय नै नभएको नाममा नक्कली योजना बनाएर रकम भुक्तानी गरेको पाईएको छ । डोल्पाको ठुलिभेरी नगरपालिका-४ स्थित दुर्गा प्रावि तिब्लाको नाममा योजना पारेर भवन नबनाई राज्यको लाखौँ रुपैयाँ हिनामिना गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्धा दायर गरेको छ ।
उक्त भ्रष्टचारमा संलग्न रहेका जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख र लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेष अदालतमा बिहीबार दायर मुद्दाअनुसार तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा घोटालामा संलग्न छन्।
आरोप पत्र अनुसार आ.व. २०६७/०६८ मा तत्कालीन दुनै गाविस वडा नं. २ र ३ (हाल ठूलीभेरी नगरपालिका–४, तिप्ला) मा अस्तित्वमै नरहेको दुर्गा प्राथमिक विद्यालय स्थापना गरिएको देखाएर दुई कोठे भवन निर्माणको नाममा ७ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गराइएको थियो । तर हाल सम्म उक्त योजनाको नामबाट कुनैपनी भवन नबनेको बताईएको छ ।
