आठबिसकोट ।अब सार्वजनिक सवारीसाधनहरू अनधिकृत स्थानमा रोकेमा कडाइका साथ कारबाही गरिने भएको छ। ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले कडाईका साथ बजार क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनलाई अब अनिवार्य बसपार्कमा राख्नुपर्ने निर्णयअनुसार सार्वजनिक गाडी तोकिएको बसपार्कमै राखिएको छ ।
धेरै समयदेखि चालकहरू यात्रु कुरेर सडक पेटी, चोक, वा नगरपालिका गेट अगाडि गाडी रोक्ने गरेका कारण ट्राफिक व्यवस्थामा अवरोध आएको भन्दै नगरपालिकाले अब सडकमा गाडी रोकेको पाइएमा तत्काल जरिवाना र तान्ने प्रक्रिया लागू गर्ने बताएको छ।
केहि दिन अगाडी उद्घाटन गरिएको सुविधा सम्पन्न आवास सहितको बसपार्क नियमित रुपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बताईएको छ । “अब कुनै पनि सार्वजनिक सवारीसाधनले बसपार्क बाहिर पार्किङ गर्न पाउँदैन। नगरप्रमुख रवि केसीले भने, सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाउन कडाईका साथ लागिरहेका छौं। अहिले जथाभावी पार्किङ गर्नेलाई नगर प्रहरी परिचालन गरेर जरिवान गर्ने कार्य भैरहेको छ । यसलाई हामी नियमित अनुगमन गर्छौं।
झन्डै साढे ४ करोड लागतमा निर्माण भएको बसपार्कमा घेराबार सहित बत्ति जडान गरिएको छ । बसपार्कमा पर्याप्त स्थान भएकाले अब गाडीहरू अनावश्यक ठाउँमा रोकिने छैनन् । आठबिसकोट ९ स्थित ठाटीखोलामा रहेको बसपार्कबाट जाजरकोट, रुकुम -काठमान्डौ, दाङ, नेपालगन्ज र सुर्खेतका लागि गाडी छुट्छन्। टिकट काउन्टर समेत केहिदिनमै बसपार्कमै सारिने बताईएको छ ।