रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
आठबिसकोट नगरपालिकाका प्रमुख तथा पालिका खोप समितिका अध्यक्ष रवि केसीले पूर्ण खोप सुनिश्चितता घोषणा गरे । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको केसीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख तथा जिल्ला खोप समन्वय समिति, रुकुम पश्चिमका अध्यक्ष देवबहादुर विकले पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा नगर प्रमुख केसीले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख चंखलाल पुनले बताए । उनका अनुसार “राष्ट्रिय खोप तालिका अनुसार नगरका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।