आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ७ स्थित सञ्चालित लाता गगुनपानी जेविचौर खानेपानी तथा सरसफाई आयोजनाको मुहान भत्काएपछि उत्पन्न विवाद मिलेको बताईएको छ । गत जेठ ५ गते सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित को समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वडा नम्वर ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण को अन्तिम चरणमा रहेको संरचना भत्काएर क्षति पुर्याएको थियो । 
वडा सदस्य बुढा सहित ८३ जना बिरुद्ध न्यायिक समितिमा उजुरी परेको थियो । न्यायिक समितिमा उजुरी आएपछी स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत न्यायिक समितिको क्षेत्राधिकार भित्र नपर्ने भएपछि जेठ ७ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई सिफारिस गरिएको थियो । फौजदारी संहिता २०७४ अन्तर्गत सार्वजनिक संरचना भत्काउने विरुद्ध कानुनी कारबाहीको माग गर्दै निवेदन दिएपछि चर्किएको विवाद नगरप्रमुख रवि केसी , सोही वडाका अध्यक्ष खगेन्द्र विक सहित मन बहादुर चदरा वडा नम्वर ७ का अध्यक्ष अमृत बुढा र मुहान भत्काउने समुह विच छलफल भएको बताईएको छ ।
७१ जनाको उपस्थितिमा भएको छलफलमा सार्वजनिक सम्पति भत्काउने बिरुद्ध दिईएको निवेदन फिर्ता लिने , मुहानको टुङ्गो लगाउने लगायतका निर्णयहरु गरेर विवाद सधान गरिएको माइन्युटमा उल्लेख गरिएको छ । तर सार्वजनिक सम्पति भत्काउने लाई उन्मुक्ति दिदै संरचनाको क्षति समेत टुङ्गो नलगाई आफुलाई छलफलमा उपस्थित समेत नगराएर भ्रम फैलाएको भन्दै उपभोक्ता समितिका अध्यक्ष कालो खत्रीले बिमत्ति जनाएका छन्। उनी भन्छन, छलफल बारे मलाई कुनैपनी जानकारी आएको छैन्। मुहान भत्काउने समुह र वडा अध्यक्षलाई मात्रै राखेर एकलौटी भएको सहमति मान्य छैन्। माईन्युटमा मेरो नाम पनि राखिएको रहेछ । घरमा आएर मलाई हस्ताक्षर गर्न दबाब दिइएको छ । मैले हस्ताक्षर गरेको छैन्। उनी भन्छन यस्तो जबरजस्ती पनि हुन्छ? मैले मुद्धा फिर्ता पनि लिएको छैन्। सार्वजनिक संरचना भत्काउने लाई कानुन बमोजिम कारबाही गर्नुपर्ने मा जिम्मेवार तहका व्यक्ति र सरकारले उनीहरुको बचाउ गरेको खत्रीको आरोप छ ।
नगरपालिकाको प्राविधिक मुल्याङकन अनुसार निर्माणको अन्तिम चरणमा रहेको चेम्बर तोडफोड गर्दा १ लाख ४४ हजार बढीको क्षति भएको जनाईएको छ । छलफलमा भने प्राविधिक मुल्याङकन र क्षतिपूर्ति बारे ठोस निर्णय नभएरै छलफल बाट बिवाद समाधान भएको बताईन्छ ।
यता न्यायिक समितिकी संयोजक धन कुमारी शाही भन्छिन, वडा सदस्यको नेतृत्वमा खानेपानीको मुहान भत्काएको भनि न्यायिक समितिमा उजुरी आएपछी हामिले मुद्धाको प्रकृति हेर्दा हाम्रो क्षेत्राधिकार भित्र नपर्ने देखिपछि विवादको छानबिनको लागि जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेका थियौँ । फौजदारी संहित भित्र रहेकाले त्यो हाम्रो क्षेत्राधिकार भित्र नपरेकाले जिल्ला प्रहरीमा पठाईएको हो । गाउँको विवादलाई केही व्यक्ति र आफुलाई अगुवा दावी गर्नेहरुले नै राजनितीकरण गरेर जनप्रतिनिधि माथि नै औँला उठाउने प्रयास गर्नु गलत हो । सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुनुपर्छ ।