काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट लाखौं रकम असुली गरिएको विषयमा गृहमन्त्री रमेश लेखक नै अनुसन्धानको घेरामा परेका छन् ।
युवाबाट रकम असुलीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएपछि गृहमन्त्री लेखकमाथि नै शंका गर्ने प्रशस्त ठाउँ मिलेको हो ।
विमानस्थल अध्यागमनबाट हटाइएकाहरुमध्ये अधिकांश नायब सुब्बा तहका कर्मचारी छन् ।
रातारात कर्मचारी हटाइनुले रकम असुलीमा उनीहरुलाघ नै मोहरा बनाइएको आशंका अनुसन्धानमा खटिएका अधिकारीले गरेका छन् ।
रकम असुली प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर आयोगले छानबिन गरिरहेको छ ।
गृहमन्त्री रमेश लेखककै सचिवालयमा कार्यरत विमल पौडेल स्वयं पहिले भिजिट भिसाका नाममा भएको मानव तस्करीमा मुछिएका अधिकृत हुन् । उनैमार्फत नासु तहका कर्मचारी परिचालन गरी गृह प्रशासनले रकम असुली गराइरहेको आशंका गरिएको छ ।
२०८० माघ १८ मा भिजिट भिसाका नाममा भएको संगठित ठगीमा जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा पौडेल पनि प्रतिवादी बनाइएका थिए । त्यसबेला प्रहरीले उनलाई फेला नपारेको भन्दै फरार बनाएर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, पछि पौडेल अदालतमा हाजिर भएर छुटेका थिए ।
अध्यागमनका तत्कालीन अधिकृत नरवीर खड्का भने विमानस्थलको होटल बाल्टिकअगाडि दुई लाख रुपैयाँसहित २०८० पुस २० मा पक्राउ परेका थिए । भिजिट भिसामा विभिन्न मुलुक पठाउँदै आएको निमा छिरिङ ट्राभल्सका कर्मचारी पदम लामाले पठाएको पैसासहित खड्का पक्राउ परेका हुन् ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार युनाइटेड अरब इमिरेट्स (यूएई) र साउदी अरबमा भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार रुपैयाँ प्रतिव्यक्ति संकलन हुने गरेको छ भने युरोप जानेबाट ३ देखि ४ लाख रुपैयाँसम्म असुल्ने गरिएको छ ।
पैसा असुलिएका महिलालाई साउदी अबर, यूएई र कुवेतका लागि ‘एल’ र पुरुषलाई ‘एस’ कोड दिएर अध्यागनबाट पास गराउने गरिएको अनुसन्धानका क्रममा देखिएको छ । यसरी पठाइएका युवा गन्तव्य देशमा पुगेपछि अलपत्र पर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
भिसा अवधि सकिँदासम्म रोजगारी नपाउँदा जरिवानामा पर्ने, जरिवाना रकम तिर्न नसक्दा जेल पुग्ने र ती देशमा पनि एजेन्टबाट लाखौं रकम ठगिने गरेको मन्त्रालय आफैंले गरेको एक अध्ययनमा उल्लेख छ ।