नेकपा एमालेले बैशाख ११ लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ । जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम आयोजनाका लागि पार्टी महासचिव शंकर पोखरेलेकै नेतृत्वमा एमाले नेतृत्व परिचालित भएको छ ।
युवालाई लोकतन्त्र ल्याउनको लागि भएको बलिदान र यसको महत्त्व बारे जानकारी दिन विशेष कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमको समन्वयमा खट्नु भएका पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
सो क्रममा आज नेकपा एमालेबाट काठमाडौं उपत्यकामा निर्वाचन जितेका जनप्रतिनिधिहरूको भेला आयोजना गरिएको थियो । भेलालाई पार्टी महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल लगायतले सम्बोधन गरेका थिए । भेलाले युवा सहभागिताका लागि विभिन्न योजना बनाएको छ ।
आजै सोही विषयमा केन्द्रित रहेर जनसंगठनका पदाधिकारीहरूको भेला पनि सम्पन्न भएको छ । भेलामा जनसंगठनको तर्फबाट युवा सहभागिताको विषयमा छलफल गरी योजना बनाइएको ढुङ्गेलले जानकारी दिए ।