आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको राडी बजार–पसाने, क्याम्पस रोड सडक धमाधम कालोपत्रे भैरहेको छ । बजेट अभावका कारण काम गरेको रकम भुक्तानी नभएपछि लामो समय देखि रोकिएको सडक कालोपत्रे (पिच) निर्माणको काम अहिले अगाडी बढेको हो । नगरपालिकास्थित राडीबजारदेखि भेरी करिडोर भेरी नदीको पुल जोड्ने चार किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ ।
निर्माण कम्पनीका अनुसार अहिले सडक कालोपत्रे कार्यका लागि पिचको अन्तिम चरणमा रहेको छ । लामो समयसम्म भुक्तानी नपाएपछि निर्माण कम्पनीले काम रोक्न बाध्य भएको थियो । बजेट अभावमा निर्माणाधीन सडक र बसपार्कको काम गरेका ठेकेदारले भुक्तानी पाउन सकेका थिएनन्।
आठबिसकोट–९ राडी बजारस्थित बजार क्षेत्र, क्याम्पस रोड र पसाने सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको गोर्खा मंगलदीप जेभीले २०८० वैशाखमा सम्झौता गरेर उक्त सडक खण्डमा पिचको काम गरिरहेको छ । उक्त कम्पनीले चार किलोमिटर सडक कालोपत्रेसँगै बसपार्क पनि निर्माण गरेको छ ।
उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो । कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ भदौ १४ सम्म भएपनी निर्धारित मितिभन्दा धेरै छिटो काम सकेर योजना बुझाउने तयारी हुँदा भुक्तानी रोकिएपछि केही समय कालोपत्रेको काम रोकिएको थियो ।
आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम सकिए सँगै यात्रुलाई सहज हुने छ । सडक कलोपत्रे पछी अब बर्खामा हिलो र हिउँदमा धुलो बाट आठबिसकोट बासी मुक्त हुने छन्।