नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयन महत्वपूर्ण भएको बताए ।
‘देशमा प्राप्त संविधान अनुसार राज्यको सबै तहमा समावेशी, समानुपातिक प्रतिनिधित्व भएको छ, यो सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छा अनुसार गणतन्त्र आएको हो, यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन’, उनले भने ।
सभापति देउवाले राजतन्त्र पुनः स्थापित हुने विषय असम्भव भएको बताए । ‘प्रजातन्त्र कुनै हालतमा पनि हट्न सक्दैन, लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउने काममा लाग्नु जरुरी छ, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हामी सबैले यो व्यवस्था ल्याएका हौँ’, उनले भने ।
नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधानअनुसार प्राप्त अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै अरूको अधिकारको हनन नहुने गरी सबै किसिमका अधिकतम सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।