रुकुम पश्चिम जिल्लामा पक्की भवन, सिँचाइ कुलो, सडक, पुललगायत विकासका भौतिक संरचना निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। धेरै वर्ष लगाएर पूरा हुन नसकेका योजना अहिले तीव्र गतिमा अघि बढिरहेका छन् तर विकासको नाममा भने नदी खोलानाला दोहन पनि उत्तिकै मात्रामा भइरहेको छ। विकास निर्माणका नाममा खोलाबाट बालुवा गिट्टी र ढुंगा उत्खननले जिल्लाका नदी तथा खोलानाला सुक्खा बन्नुका साथै खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ। आठबिसकोट नगरपालिकाको गिजागाड खोला, खारखारा खोला लगायतका अन्य मुख्य नदीबाट उत्खनन हुँदा बस्तीसमेत जोखिममा पर्न थालेका छन्।
ठेकेदार तथा निर्माण व्यवसायिले मनपरी ढंगले खोलामा भएको सबै ढुङ्गा, बालुवा गिट्टी निकाल्दा आठबिसकोट ७ को खारखारा खोला छेउ बस्तीमा जोखिम बढेको छ । खोलामा माटो मात्रै देखिन्छ । खारखोला र आठबिसकोटका अन्य खोलामा मनपरी ढंगले अवैध ढुङ्गा उत्खनन गर्नेक्रम रोकिएको छैन। दैनिक लाखौँ मूल्य बराबरको ढुङ्गा, गिट्टी र बालुवा लग्ने गरेको बताइएको छ। दैनिक अबैध रुपमा ट्र्याक्ट खोलामा पसेर जथाभावी ढुङ्गा उत्खनन गर्दा वातावरणसमेत प्रभावित भएको स्थानीयवासीहरुको आरोप छ।
स्थानीयले उत्खनन रोकिदिन नगरप्रमुख र वडा अध्यक्ष लाई समेत भन्दा चासो नदेखाएको स्थानीयको गुनासो बढ्दो छ । खारखारा खोला छेउको खारखारा वस्ती जोगाउन तडबन्दन गर्नुपर्नेमा स्थानीय सरकार लाचार बन्दै गएको देखिन्छ । उक्त खोलामा दैनिक हुने अवैध उत्खनन रोक्न नगरपालिकाले ध्यान दिनुपर्छ । खोलाको स्वामित्त्व समेत मेटिनेगरी गरिएको उत्खनन रोक्न नगरपालिकाले विशेष पहल लिनुपर्ने देखिन्छ । उत्खनन गर्दा मापदण्डमा रहेर गर्नुपर्नेमा स्वीकृति नै नलिएर उत्खनन गर्दा मानव बस्ती नै जोखिममा पर्ने खतरा देखिन्छ । अबैध उत्खननमा नगरपालिका मौन बस्नुले आम नागरिकमा शंका पैदा गरेको छ ।
नियम विपरीत खोला उत्खनन भइराहदा स्थानीयले गुनासो गरेका छन् । तर स्थानीयको गुनासो न स्थानीय सरकारले सुन्छ न त उत्खनन वालाले नै । नियम विपरीत खोला उत्खनन गरेको जनगुनासो बढ्दै गर्दा स्थानीय सरकारले यथासिघ्र खोला उत्खनन रोक्न तर्फ ध्यान दिन जरुरी छ ।