राजनीतिक दलहरुले एकपछि अर्काे गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । राजावादीहरुकाे आन्दोलन सकिदा नसकिदै अन्य गणतान्त्रिक दलहरुले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन ।
समाजवादी माेर्चाले यही चैत १५ गते बिरोध कार्यक्रम गर्ने भएकाे छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय माेर्चाले गरेकाे छ । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी १५ गतेको बिरोध कार्यक्रम गर्ने निस्कर्ष माेर्चाले निकालेकाे हाे ।
यसैगरी, नेकपा (एकीकृत समाजवादी)ले चैत र वैशाखमा गर्ने आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेकाे छ । आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताए ।
उनले चैत्र ७–१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गर्ने बताए । उनले चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने कार्यक्रम रहेको बताए ।