नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले घोराही उपमहानगरपालिका वडा नं १४ स्थित शुभप्रभात माध्यमिक विद्यालयको प्रधानाध्यापक रुद्र बुढा माथि भएको कुटपिट घटनाको विरोध गर्दै सशक्त प्रतिक्रिया जनाएको छ।
पार्टीका अनुसार, विद्यालय जस्तो शान्ति र शिक्षा प्रदान गर्ने संस्थामा यस्तो हिंसात्मक घटना घटाएकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। विशेष गरी यस घटनामा वडा अध्यक्षको संलग्नता र फर्जी अभिभावक परिचालनको बिषयमा कदापि स्वीकार्य नभएको धारणा व्यक्त गरेको छ।
पार्टी सेक्रेटरी अमर द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि, विद्यालयको जग्गा अतिक्रमणको विषयमा प्रधानाध्यापकसँग छलफल गर्न पुगेका पार्टीका विद्यार्थी संगठनका नेता नरेन्द्र बिक र पवन सुनारलाई पनि कुटपिटको शिकार बनाउन खोजिएको थियो। पार्टीले उक्त घटनाको छानबिन गरी कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ। पार्टीले यस घटनामा संलग्न प्रत्येक व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउनुपर्ने उक्त पार्टीको धारणा रहेको छ ।