नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालगञ्ज हेल्थ क्याम्पस प्रशासन र क्याम्पसको सञ्चालक माथि गम्भीर आरोप लगाएको छ। संगठनले क्याम्पस प्रशासन र सञ्चालक मैकुलाल वाल्मिकि माथि विद्यार्थी शोषण र भ्रष्टाचारको आरोप लगाउँदै, क्याम्पसको फागुण २३ गते (हिजो शुक्रबार ) गतेको विज्ञप्ति खारेज गर्ने घोषणा गरेको छ।
अखिल (क्रान्तिकारी)का अनुसार, क्याम्पस सञ्चालकले विद्यार्थीहरूको ड्रेसको नाममा ठूलो कमिशन असूल गर्ने, भर्नामा बार्गेनिङ गर्ने, र विद्यार्थीहरूलाई मानसिक रूपमा शोषण गर्ने गरेको आरोपहरू सार्वजनिक भएको बताउँदै यसका साथै, सञ्चालकले “बम बोकेको मान्छे हुँ” जस्ता अभिव्यक्तिहरू दिएर क्याम्पसमा शैक्षिक संस्थाको नाममा दादागिरी गर्ने व्यवहार देखाएको दावी गरिएको छ।
अखिल (क्रान्तिकारी) ले उक्त क्याम्पसका सञ्चालक विरुद्ध कडा कदम चाल्न सिटिभिटी र अन्य प्रशासनिक निकायलाई छानबीन गर्न आग्रह गरेको छ। साथै, क्याम्पसले अखिल (क्रान्तिकारी) का सचिव रमेश सुनारको नाम जोडेर प्रकाशित गरेको प्रेस विज्ञप्तिको खण्डन गर्दै, क्याम्पसलाई माफी माग्न चेतावनी दिइएको छ।
उक्त संगठनले आगामी दिनमा शैक्षिक संस्थामा दादागिरी र भ्रष्टाचार विरुद्ध सशक्त संघर्ष जारी राख्ने जनाएका छन्।