सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडवृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ तीन सय ४२ विद्यार्थी सहभागी हुँदैछन् ।
निर्देशनालयका निर्देशक दीपा हमाल का अनुसार प्रदेशका १० जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा बढी नौ हजार पाँच सय १३ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।
गएको वर्ष भन्दा यस वर्ष प्रदेशमा झण्डै दुई हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । गएको वर्ष कुल ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।
प्रदेशमा यस वर्ष एसईई सञ्चालन गर्न एक करोड ३९ लाख ३० हजार पाँच सय पाँच रुपियाँ खर्च हुने निर्देशनालयले जनाएकोे छ । यस वर्ष एसईईको लागि एक सय ८० परीक्षा केन्द्र तोकिएको निर्देशनालयले जनाएको छ ।