दाङको राप्ती गाउँपालिकाले सहिद परिवारलाई सम्मानस्वरूप सुपानेट झुल वितरण सुरु गरेको छ। देशको व्यवस्था परिवर्तनका लागि जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरूमा सहिद भएका व्यक्तिहरूको परिवारलाई सम्मानस्वरूप सो झुल वितरण गर्न थालिएको हो।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहिद परिवारहरूलाई गाउँपालिकाले सदैव सम्मान गर्ने बताउँदै सहिदहरूको त्यागको कदर गर्नु पालिकाको दायित्व भएको बताएका थिए। उनले सहिद परिवारलाई सहयोग पुर्याउन सके मात्र साँचो श्रद्धाञ्जली व्यक्त हुने धारणा राखे।
कुनै औपचारिक कार्यक्रम गरेर दोसल्ला ओढाउने परम्परागत शैलीभन्दा सहिद परिवारको घरदैलोमा पुगेर उनीहरूको वास्तविक आवश्यकता बुझ्दै सहयोग गर्नु नै प्रभावकारी सम्मान हुने अध्यक्ष विष्टको भनाइ थियो।
यसै क्रममा मंगलबारदेखि सुरु गरिएको झुल वितरण कार्यक्रमअन्तर्गत पहिलो दिन वडा नम्बर ३ र ५ का केही सहिद परिवारलाई सुपानेट झुल प्रदान गरिएको छ।