काठमाडौं । काठमाडौंको हनुमानढोकामा एक व्यक्तिको हत्या भएको छ भने दुई जना पक्राउ परेका छन् । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका पुरुषको हत्या भएको खुलेपछि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धानमा मृत भेटिएका व्यक्तिको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार मृतक व्यक्तिको सनाखत नहुँदा प्रहरीमा जाहेरी परेको छैन ।
बिहानीपख शव फेला परेको भन्दै प्रहरीलाई खबर आएपछि परिसर काठमाडौंको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।
सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्ति पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनाले हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । ती अधिकृतका अनुसार पक्राउ परेकाहरुले बाँसको भाभटाले टाउकामा हानेर हत्या गरेको बयान दिएका छन् । उनीहरुले हत्यामा प्रयोग गरेको बाँस पनि फेला परेको छ ।
पक्राउ परेका दुवै जना १८ वर्षमुनिका रहेकाले उनीहरुको नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।