काठमाडौं । संसदहरुले उठाएको प्रश्न को जवाफ दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पमा ११ हजार नक्कली पीडित खडा गरिएको आरोप लगाएका छन् । (आइतबार) प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लाहरुको घर संख्या ३७ हजारभन्दा बढी नरहेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले ४८ हजार घर भत्किएको भनेर राहत वितरण गरेको बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले राखेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘भूकम्प गत वर्ष कात्तिकतिर गएको थियो । तर, क्षेति कति भयो भन्ने पनि नभएको ३५÷३६ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरिएको, कहाँबाट आयो ४८ हजार घर ? जहाँ जिल्लामै ३७ हजारभन्दा बढी घर छैनन् । त्यो ठाउँमा ४८ हजार घर भत्किएर कसरी क्षति वितरण भयो ? अचम्म लाग्छ । उनले त्यसरी वितरण भएको राहत र क्षतिपूर्ति देख्दा अचम्म लागिरहेको बताए ।
प्रधानमन्त्री ओलीले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा हालसम्म ३ अर्ब ९५ करोड ६५ लाख रकम निकासा भइसकेको पनि जानकारी गराए । रुकुम र जाजरकोट जिल्ला व्यवस्थापन समितिबाट सिफारिस भइआएका सबै भूकम्प प्रभावितका लागि प्रथम र दोस्रो किस्ताको रकम पठाइसकिएको उनले बताए । २०८१ माघ महिनामा मात्रै भूकम्प प्रभावितहरुका लागि ८० करोड निकासा भएको उनले जानकारी गराए । जाजरकोटमा ४८ हजार ५१६, रुकुमपश्चिममा ३४ हजार ९९७ र सल्यानमा ४ हजार ४०७ घरपरिवार प्रभावित भएका थिए ।