रुकुम पश्चिम । ३० औँ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरीमा ‘ सातौँ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन’ शुरु भएको छ । सानीभेरी गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा ‘जनयुद्ध दिवस’को अवसरमा म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । सातौं म्याराथनको उद्घाटन पुर्वमन्त्री तथा माओवादीका उपमहासचिव जनार्दन शर्माले गरेका छन्।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ ५३ जना र महिलातर्फ ३२ जना धावकको सहभागिता रहेको छ । म्याराथनको उपाधी हात पार्ने धावकले १ लाख पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टका अनुसार युद्धकालमा ओवादीका जनमुक्ति सेनाहरु हिंड्ने बाटोमा धावकहरु दौडिने बताए । युद्धमा माओवादी हिडेको बाटो र जनमुक्ति सेनाहरुले तालिम गरेको मौराखारा क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन गाउँपालिकाले म्याराथन दौड प्रतियोगिता गराउँदै आएको बिष्टले जानकारी दिए। समुन्द्र सतहबाट दुई हजार नौ सय मीटरको उचाईमा रहेको मौराखारा लेक सम्मको दौडको यो सातौँ संस्करण हो ।
प्रत्येक वर्ष पालिकाले नै आयोजना गर्ने यो म्याराथन लाई राष्ट्रिय खेलकुद परिषद (राखेपले ) सहयोग गर्दै आएको छ । महिलातर्फको म्याराथन दौडमा जुम्लाकी कल्पना बुढा प्रथम बनेकी छन्। भने जुम्लाकै राज्यलक्ष्मी रावत दोस्रो बनिन्।निर्धारित ३४ किलोमिटरको दुरी ३ घण्टा १४ मिनेटमा पार गर्दै कल्पना प्रथम भइन । रावतले निर्धारित दुरी ३ घण्टा १६ मिनेटमा पार गरिन । त्यस्तै निर्धारित दुरी ४ घण्टामा पार गर्दै रुकुम पश्चिमका दुर्गाराज बुढाले मौराखारा म्याराथनको उपाधी जितेका छन्।