काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध राष्ट्रिय दिवस भएकोले यसको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् । ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त धारणा राखेका हुन् ।
‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उनले भने, ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’
जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।
‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनले भने, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’