रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा फागुन १ गते संचालन हुन लागेको सातौं राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा भएको छ । ‘जनयुद्ध’ दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले हरेक वर्ष फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन संचालन गर्दै आएको छ । प्रतियोगिताको ७ औं संस्करणको तयारी पुरा भएको जानकारी गाउपालिकाले गराएको छ ।
रुट मार्किङ सहित आवश्यक संरचना निर्माण, प्रचार प्रसार, अतिथि आमन्त्रण लगायतका तयारी पुरा भएको गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले जानकारी दिनुभयो । ‘विभिन्न समितिहरु निर्माण गरेर म्याराथनको तयारी लगभग पुरा भएको छ उहाँले भन्नुभयो–ठूला तयारीका कामहरु पुरा हुँदा सानातिना तयारीका कामहरु तिव्र गतिमा भइरहेका छन् ।
गत दुई वर्ष देखि प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत सहयो गर्दै आएको छ ।
म्याराथन महिला पुरुष दुवै तर्फ संचालन हुँदै छ । पुरुष म्याराथनको दुरि ४८ किलोमिटर रहेको भने महिला म्याराथनको दुरि ३४किलोमिटर तोकिएको छ । पुरुष तर्फको विजेताले १ लाख पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ । द्धितियले ७५ हजार र तृतियले ४५ हजार पुरस्कार पाउँदा चौंथो हुनेले १५ हजार तथा १० औं स्थानसम्म हाँसिल गर्ने धावकलाई ३÷३ हजार पुरस्कार दिने गाउँपालिकाको भनाई छ ।
महिला तर्फको विजेताले भने ६० हजार, द्धितियले ४० हजार, तृतियले २० हजार, चौंथोले १० हजार र १० औं स्थान सम्मकालाई ३ हजार पुरस्कार दिइने म्याराथन मुल समारोह समितिले जनाएको छ । प्रतियोगिताको व्यवस्थापकका रुपमा युवा, खेलकुद विकास समिति सानीभेरी रहेको छ ।
सानीभेरी गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसर पारी आर्थिक वर्ष २०७४÷०७५ देखि नै हरेक वर्षको फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । तत्कालिन नेकपा माओवादीले संचालन गरेको ‘जनयुद्ध’का क्रममा माओवादी सेनाहरुले तालिम गरेको ऐतिहासिक स्थान मौराखाराका नामबाट यो प्रतियोगिताको नामाकरण गरिएको हो ।
धावकहरुलाई मौराखारासम्मै दौडाउने गरिएको छ । तत्कालिन माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा यो दौड संचालन गरिने भएकोले यसको नाम गुरिल्ला म्याराथन राखिएको हो