जोतभोग गरेको जमिनको मोहीहक पाउनु पर्ने माग राख्दै दाङको घोराहीमा स्वर्गद्वारी गुठीका पीडितहरूले सयौँको संख्यामा र्याली निकालेका छन् । स्वर्गद्वारी गुठीको जग्गामा कायम भएको मोही हक कार्यान्वयन गरिनु पर्ने माग राख्दै काठमाडौंमा अनिश्चितकालीन धर्णामा बसेका स्वर्गद्वारी गुठी पीडितको समर्थनमा (आज) आईतबार दाङको घोराहीमा सयौँ गुठिपीडतहरूले र्याली निकालेका हुन।
सरकारलाई दवाव दिन गत माघ २० देखि काठमाडौंको माइतीघर मण्डलमा ३९ जना गुठीपीडितहरू अनिश्चितकालीन धर्ना दिइरहेका छन् । गतसाल फागुन ८ देखि चैत ७ गतेसम्म घोराहीमा विभिन्न चरणमा आन्दोलन गरेका स्वर्गद्वारी गुठीपीडित सडकमै सुते, थाल ठटाए, सडकमा हलो जोतेर हिँडे र जिल्ला प्रशासन कार्यालय अगाडि रातदिन बसेर धर्ना दिए । मालपोत र नापी कार्यालय घेराउ गरे । सरकारले किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भयो तर कार्यन्वयनमा आएन ।
गुठीपीडितहरूले स्वर्गद्वारी गुठीको जग्गामा कायम भएको मोही हक कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । जमिनमाथिको अवैध स्वामित्व अन्त्य हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, धर्मका नाममा शोषण गर्न नहुने जस्ता नारा लगाएर किसानहरुले प्रदर्शन गरेका छन् ।
२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामीना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनु पर्ने माग राख्दै आन्दोलन जारी राखेका छन् ।