काठमाडौं । प्रहरी माथि हातपात गरेको आरोपमा काठमाडौँको ठमेलबाट प्रहरीले दुई जना लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले ताप्लेजुङको फुङलिङ्ग नगरपालिका १ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २५ वर्षका दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेश फुलारालाई पक्राउ गरेको हो।
माघ २४ गते उनीहरूसहित ५/६ जनाले ठमेलस्थित सडकमै हो हल्ला गर्दै हिँडेपछि प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) प्रहरीले फेला पारेको थियो। उनीहरूलाई सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरेका थिए। उनीहरु नेकपा एमालेको विधार्थी संगठन अनेरास्वयु निकट अमृत साइन्स क्याम्पसमा अध्ययनरत रहेको बुझिएको छ ।
प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको उनीहरूलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रहरीले ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।