एमालेबाट निर्वाचित दाङको घोराही उपमहानगरपालिका – ८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाटै निष्कासन गरिएको छ । नेकपा एमाले दाङ जिल्लाले सामाजिक सञ्जालमा पार्टीका नीति विपरित मनपरी अबिब्यक्ति दिएको भन्दै वडाध्यक्ष जितेन्द्र शाहलाई निष्काशित गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय घोराहीको भरतपुरमा बसेको जिल्ला कमिटी बैठकले शाहलाई निष्काशन गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार शाहलाई अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरिएको छ।
पार्टीले तीन महिना पहिले लिखित स्पष्टीकरण मागेपछि शाहले उत्तर नदिई फोनमा अनुत्तर जवाफ दिएको , वडा अध्यक्ष शाहले पहिलेदेखि नै पार्टी छोडेर आफू स्वतन्त्र भएको घोषणा गरेको , लगायतका कारण देखाउदै एमाले दाङले पार्टी सदस्य बाट निष्कासित गर्ने निर्णय गरेको हो । वडाध्यक्ष शाहले यसअघि वडामा विकासका लागि आवश्यक बजेट नदिएको भन्दै मेयर नरूलाल चौधरीको चर्को आलोचना गरेका थिए । तर वडाअध्यक्ष शाहले जनताका आवाजहरू पालिकामा उठाउँदा मेयर नरूलाल चौधरी लगाएत केही ब्यक्तिले इगोसादेर पार्टीबाट निष्कासन गरिएको बताएका छन् ।
अब एमाले जिल्ला कमिटी बैठकको निर्णय प्रदेश र केन्द्रमा पठाएपछि पार्टीको केन्द्रीय समितिले निर्वाचन आयोगलाई पत्राचार गरेमा घोराही -८ को वडा अध्यक्ष पद रिक्त हुने छ ।