आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडीबजारमा निर्मानाधिन नगर अस्पतालको भवन अलपत्र परेको छ । उक्त भवन निर्माण सुरु गरेकै तीन वर्ष बित्यो तर अहिले सम्म अलपत्र अवस्थामा रहेको छ । अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ। ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन्। तीन वर्षमा पनि भवन निर्माणले पूर्णता पाएको छैन।
अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति दुईपटक सकिएर म्याद थप भएपनी कामले गति नलिँदा भवन अलपत्र परेको हो । निर्माण सम्झौताको तीन वर्ष सम्म पनी पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ। प्राविधिकका अनुसार अहिले सम्म जम्मा २० प्रतिशमात्रै काम भएको पाईएको छ । लामो समयको प्रयास र पहलपछि उक्त नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो। पछिल्लोपटक जेठ २०८१ मा सम्झौताको म्याद थपेपनी अहिलेसम्म निर्माणको सुरसार छैन्। २०७८ जेठ १० गते सम्झौता भएको यो भवन समयमै निर्माण नहुँदा २०८० बैशाख १० मा र २०८१ जेठ १० म्याद थपेर पनी अझैं निर्माण हुनसकेको छैन्।
१४ करोड रुपैयाँको ठेक्का आह्वान भएको सो भवन निर्माणका लागि क्याराभान कन्ट्रक्सन प्रालिले १२ करोडमा भवन निर्माण ठेक्का पाएको थियो । उक्त कम्पनीका सञ्चालक चन्द्र थकालीले भवन निर्माणमा गरेको ढिलासुस्तिले सेवाग्राहीलाई समस्या थपिएको अस्पतालको भनाई छ । ठेकेदार र निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन सकेको छैन । अस्पताल सम्पन्न गर्नुपर्ने मिति दुई पटक सकिदा पनी निर्माण सम्पन्न नहुँदा स्थानीयबासी आक्रोशित छन् । आठबिसकोट नगरपालिका उपप्रमुख धन कुमारी शाही भन्छिन, तीन वर्ष सम्म पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ, तर शक्ति र सत्ताको आडमा बसेकाहरुले अटेर गर्दै बदमासी गरिरहेका छन्। निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौताअनुसार काम गर्न निर्देशन गर्नेछु।”
अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित भएको छ । अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको आठबिसकोट नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीले बताईन्। सरकारी संयन्त्रले अस्पताल निर्माणबारे कुनै पनि चासो दिएको देखिदैन । अस्पताल सञ्चालन समितिका उपाध्यक्ष टिकाराम सुनार भन्छन, निर्माण व्यवसायी चन्द्र थकालीले भवन निर्माण जती ढिला भएपनि होस भन्ने मनसायले निर्माण तर्फ ध्यान नदिएको स्पष्ठ छ । शक्ति केन्द्रको बलमा रहेको क्याराभानले तीन वर्ष देखि अलपत्र पारेको बताए । अस्पतालको सेवा थप गर्नका लागि निर्माण गर्न लागिएको भवन अलपत्र हुदाँ सेवाग्राही मारमा पर्दै आएको सुनारको भनाई छ ।