काठमाडौं । युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको छ । बुधबार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तनहुँ बन्दीपुर गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २३ वर्षीया सन्जिता गुरूङ र तनहुँ भिमाद नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ५० वर्षीय रेशम राज लामिछाने छन्।
पक्राउमध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६० लाख ८९ हजार रूपैयाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौं न्यूरोडबाट र रेशम राजलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।