घोराही उप महानगरपालिका -१९ नम्वर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । (आज) पुस २८ गते देखि राष्ट्रिय जनमोर्चा १९ नम्बर वडाले नीतिगत भष्टाचार भएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
वडामा फुसको छानो बिस्तापित कार्यक्रम सुरक्षित नागरिक आवास कार्यक्रम , प्रत्येक आ.ब.मा गर्ने योजना तथा कार्यक्रम छनौट र कार्यन्वयन लगाएत वडा कार्यालयबाट जनतालाई दिईने दैनिक प्रशासनिक सेवामुलक काममा भएको अनियमितता र नितिगत भष्ट्राचारका बिरूद्व खवरदारीका लागि अनिश्चितकालीन तालाबन्दी गरिएको राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष मंगल बहादुर घर्ती बताए ।
गत कार्तिक ४ गते वडामा सर्वदलीय बैठक बसी वडाअध्यक्ष ज्ञान बहादुर रायमाझीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको र उक्त छानबिन समितिले स्थलगत अनुगमन गरि मंसिर १५ गते सम्म नगरप्रमुख नरूलाल चौधरी समक्ष प्रतिबेदन पेश गर्ने सहमति भएमा उक्त सहमति अनुसार वडा अध्यक्षले कुनै पहल कदमी नलिएको भन्दै तालाबन्दी गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष घर्तीले बताए ।