काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख बसन्त रजौरेले उनीविरुद्ध मुद्दा नचल्ने पत्र प्राप्त पछी रिहा गरेको बताए ।
कोशी प्रदेशका निपूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहितलाई ३ वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय प्रहरीले दिएको थियो । जापानमा मानव बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा पक्राउ परेका ९ जना र फरार ३ नजना गरी १२ जनालाई ३ वटा कसुरमा मुद्दा चलाउन राय दिइएको थियो । तर सरकारी वकिल कार्यालयले निवर्तमान अधिकारी बाहेक ११ जनाविरुद्ध मात्रै मुद्दा चलाउने निर्णय गरेको अर्यालले बताए । अधिकारी नेकपा एमालेबाट मोरङ क्षेत्र नं २ (ख) बाट निर्वाचित सांसद हुन् । अरुविरुद्ध भने मानव बेचविखन तथा ओसारपसार, सरकारी कागजात किर्ते र ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
मन्त्री अधिकारीसँगै ३ जना युवा नक्कली कागजातका आधारमा जापानको नारिता विमानस्थल पुगेका थिए । तर त्यहाँबाट मन्त्री अधिकारी र तीनजना युवालाई नै फर्काइदिएको थियो। कात्तिक १६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ युवा पक्राउ परेका थिए ।
पक्राउ परेका युवाहरूले आफूहरूले १० देखि १३ लाख रूपैयाँसम्म बुझाएर जापान गएको बयान दिएका थिए । उनीहरूले बयानमा आफूहरू पनि ठगिएको बताएका छन्। उनीहरूले बिचौलियालाई रकम बुझाएर जापान जान लागेको बताएका थिए ।
तर सरकारी वकिल कार्यालयले मन्त्री अधिकारीले आफू गलत कार्यक्रममा आएको थाहा पाउनासाथ फर्किएको, घटना बारे उनले नै प्रहरीलाई जानकारी दिएको, बयानका क्रममा संलग्नता अस्वीकार गरेको जस्ता आधार देखाएर उनलाई मुद्दा नचल्ने निर्णय भएको छ ।
पूर्वमन्त्री अधिकारी कात्तिक २५ गते पक्राउ परेका थिए । खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाँउपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाँउपालिका–५ का २१ वर्षीय कन्चन देवकोटा मन्त्री अधिकारीसँगै जापान पुगेका थिए ।