तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका १५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरूलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० जना महिला माला गाँस्न व्यस्त छन् । समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो ।
गतवर्ष २ लाख रुपैयाँ बराबरको सयपत्री निकासी गरिएको अध्यक्ष गुरुङले जानकारी दिइन् । यो वर्ष ८ लाख रुपैयाँ बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको उनको भनाइ छ । आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि महिलाहरू व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए ।
समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ । ‘आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ’, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने, ‘केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ ।’ फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिक रूपमा पनि सक्षम भएका छन् ।