दाङ । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी कलेज अफ टेक्नोलोजीद्वारा सञ्चालित नोभा नेशनल कलेजले बिएएलएलबी शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले बिहीबार घोराहीमा पत्रकार सम्मेलनमार्फत बिएएलएलबी कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएको हो । कलेजका अध्यक्ष चन्द्रप्रकाश खनालले कार्यक्रमको बारेमा जानकारी दिँदै कानुन क्षेत्रको महत्त्वलाई मध्यनजर गर्दै घोराहीमा बिएएलएलबी शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।
उनले कलेज सञ्चालनसँगै पहिलो वर्ष ४० जनाको कोटामा भर्ना खुला गरिसकेको र बिएएलएलबी पाँच वर्षे शैक्षिक कार्यक्रम भएको बताए । यो पाँच वर्षे शैक्षिक कार्यक्रमका लागि पाँच लाख शुल्क निर्धारण गरिएको बिएएलएलबी स्नातक तहको आर्ट र कानुनको संयुक्त कोर्ष भएको उनले बताए । यो स्नातक तहको कार्यक्रम भएकोले जुनसुकै विषयमा ५० प्रतिशत वा सीप्लस ल्याएर १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कलेजले लिने प्रवेश परीक्षा उत्तीर्ण गरि भर्ना हुन पाउने व्यवस्था रहेको कलेजले बताएको छ ।
दाङमा प्लसटुतर्फ कानुन विषयको पढाइ भएतापनि स्नातकतर्फको पढाइ नहुँदा अधिकांश विद्यार्थीलाई काठमाडौं जानुपर्ने बाध्यता रहेको भन्दै उनले अबदेखि त्यो बाध्यता हटेको कुरामा जोड दिए । विद्यार्थीहरुका लागि विभिन्न आरक्षण कोटामा छात्रवृत्तिको समेत व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ ।
कलेजका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सुदीप गौतम, महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, नोभा कलेजका संयोजक डा. केशव केसी, कलेजका प्राध्यापक सोगतबिर चौधरीलगायतले बिएएलएलबी शैक्षिक कार्यक्रम बारेमा आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण कलेजका प्राध्यापक वसन्तप्रसाद रिजालले गरेका थिए ।