रुकुम पश्चिम। राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न अवरोध गरेको आरोपमा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट–३ का गोपाल विकविरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी परेपछि उनलाई पक्राउ गर्न प्रहरी टोली खटिएको थियो। गोपाल विकलाई खोज्ने क्रममा असोज २० गते बिहान मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिर नजिक सडकमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाएको थियो। गोपाल विक वडा अध्यक्ष केशरमान विकका भाई हुन्।
सो क्रममा वडाध्यक्ष केशरमान विकले प्रहरी टोलीसँग वादविवाद गर्दै अश्लील शब्द प्रयोग गरेको, गालीगलौज तथा हातपात गरी गोपाल विकलाई प्रहरीको जिम्माबाट छुटाएर पुनः ड्युटीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई समेत हातपात गरेको प्रहरीको दाबी छ।
कर्तव्य पालनमा बाधा अवरोध पुर्याएको आरोपमा वडाध्यक्ष विकलाई सोही स्थानबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय मुसिकोटबाट ३ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रहरीले वडाध्यक्ष विकविरुद्ध यसअघि पनि अभद्र व्यवहार तथा ज्यान मार्ने उद्योगलगायतका मुद्दा परेको र तीमध्ये केही मुद्दामा धरौटीमा छुटेको विवरणसमेत सार्वजनिक गरेको छ।
