काठमाडौं। नेपाली कांग्रेसले पार्टीभित्र नेतृत्वका आकांक्षीहरूको व्यवस्थापन तथा आन्तरिक शक्ति सन्तुलन मिलाउन पदाधिकारीको संख्या उल्लेख्य रूपमा थप गर्ने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका पदाधिकारीको संख्या हालको १४ बाट बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको हो।
पार्टीको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकमा पदाधिकारी बन्न चाहने नेताहरूको संख्या अत्यधिक भएपछि शीर्ष नेतृत्वबिच भागबन्डा मिलाउन र समावेशी सन्तुलन कायम गर्न विधान संशोधनमार्फत पदाधिकारी संख्या थप्ने सहमति जुटेको एक केन्द्रीय नेताले जानकारी दिए।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी टोलीमा १ जना सभापति, ३ जना उपसभापति, ३ जना महामन्त्री, १४ जना सहमहामन्त्री र १ जना कोषाध्यक्ष रहनेछन्।
यसअघि कांग्रेसको विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १४ जना पदाधिकारी रहने व्यवस्था थियो। नयाँ निर्णयअनुसार उपसभापतिमा १, महामन्त्रीमा १ र सहमहामन्त्रीमा ६ जना पद थप गरी १४ सहमहामन्त्री पुर्याइएको छ।
सहमहामन्त्री पदमा विभिन्न समावेशी क्लस्टरहरू जस्तै महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, खस-आर्य र पिछडिएको क्षेत्रका साथै खुला, महिला आरक्षण तथा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्वसमेत सुनिश्चित हुने गरी संरचना विस्तार गरिएको छ।
केन्द्रीय कार्यसमिति बैठकबाट स्वीकृत भएको यो विधान संशोधन प्रस्तावलाई जारी १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गरिनेछ। बन्दसत्रले उक्त प्रस्ताव सर्वसम्मत वा बहुमतले पारित गरेपछि मात्रै यो नयाँ व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ र सोही संरचनाअनुसार उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
पार्टीभित्र बढ्दो युवा चासो, महिला प्रतिनिधित्वको माग तथा विभिन्न गुटगत शक्ति सन्तुलन मिलाउनका लागि यो कदम चालिएको कांग्रेस वृत्तमा चर्चा छ।