काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले घरेलु हिंसा, मदिरा नियन्त्रण, दैनिक उपभोग्य वस्तुमा भएको अनियन्त्रित मूल्यवृद्धि तथा विपद् पूर्वतयारीका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतको चौकुने गाउँपालिका-६ मा गोपीराम जैसीले मदिराका लागि पैसा नपाएको झोकमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको भरुवा बन्दुक हानेर हत्या गरेको घटनाप्रति दुःख व्यक्त गरिन्।
घटनामा दुई छोरी गम्भीर घाइते भएको र छोरा भागेर बाँच्न सफल भएको जानकारी दिँदै उनले घाइते बालबालिकाको निःशुल्क उपचार तथा पीडित परिवारलाई राहतको माग गरिन्। महिला हिंसा रोक्न, मदिरा तथा लागुऔषध नियन्त्रण गर्न र स्थानीय स्तरका मदिरा नियन्त्रणमा समेत कडाइ गर्न उनले आग्रह गरिन्।