गत भदौ २३ गते भएको खबरदारी आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण नवयुवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, उक्त आन्दोलनमा घाइते हुनु भएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
साथै, भदौ २४ गते विभिन्न राजनीतिक उद्देश्य तथा देशी–विदेशी शक्तिबाट परिचालित विभिन्न समूह र पक्षद्वारा देशको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई कमजोर पार्ने तथा संकटमा पार्ने उद्देश्यले देशमा हिंसा, अराजकता र विध्वंस फैलाउने जो-कोहीलाई कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु।
पुराना राजनीतिक दलहरू सरकारबाट बाहिरिएको पनि करिव करिव एक वर्ष पूरा भएछ। “नयाँले धेरै गर्छौँ, पुरानाले ३५ वर्षसम्म केही गरेनन्, अब हामीले देश बदल्छौँ” भन्ने उद्देश्य र प्रतिबद्धतासहित जनताबाट अप्रत्याशित राजनीतिक उपलब्धि हासिल गरेको नयाँ शक्तिबाट जनताले ठूलो अपेक्षा गरेका थिए।
तर, आज परिवर्तनको हुंकार, उद्देश्य र त्यसअनुसारको प्रगतिभन्दा देश लयमा होइन, बिलय र अराजकतातर्फ, लोकतान्त्रिक संस्कार र संस्कृतिको विकासभन्दा विकृति, विसंगति, निरंकुशता, अत्याचार र संकुचित मानसिकताको वृद्धितर्फ अघि बढिरहेको अनुभूति हुन थालेको छ।
लोकतान्त्रिक गणतन्त्रको एक मात्र विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र नै हो। त्यसैले विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै आपसी राजनीतिक संस्कार, जवाफदेहिता, समझदारी, सहमति, सम्झौता, वार्ता र छलफलका माध्यमबाट राजनीतिक एकता तथा आपसी भाइचाराको वातावरण निर्माण गर्न आवश्यक छ।
विगतका कमजोरी र विवादलाई बिर्सेर वर्तमानका चुनौतीहरूको सामना गर्दै उन्नत पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा बेरोजगारीका समस्या समाधान गर्ने दिशामा ठोस प्रयास गर्नुपर्छ।
यससँगै राष्ट्रको दीर्घकालीन विकास, राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाधीनता र जनताको स्वतन्त्रतालाई केन्द्रमा राख्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, लेखक, कर्मचारी, शिक्षित तथा बौद्धिक वर्ग र विशेषतः सरकारले विशेष पहल र कदम चाल्नु नै वर्तमान समस्याको समाधानतर्फको उचित बाटो हो।
देशलाई द्वन्द्व, अराजकता र विभाजनतर्फ होइन सुशासन, स्थायित्व, विकास, राष्ट्रिय एकता र सुदृढ लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढाऔँ।