डोटीको आदर्श गाउँपालिका ६ मा लामो समयदेखि विद्युत् विस्तार हुन नसक्दा स्थानीयवासी अझै अन्धकारमै बस्न बाध्य भएका छन्। स्थानीय तह स्थापना भएको करिब एक दशक बितिसक्दा पनि वडामा विद्युत् सेवा नपुगेपछि यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ।
वर्षौंदेखि स्थानीय, प्रदेश तथा संघीय तहका विभिन्न सरकार र जनप्रतिनिधिहरूले निर्वाचनका बेला वडामा विद्युत् विस्तार गर्ने, सडकको मोटरेबल पुल निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए। स्थानीयवासीले पटक-पटक फरक-फरक दलका उम्मेदवार र नेतालाई निर्वाचित गरेर पठाए पनि वडा नम्बर ६ मा विद्युत् विस्तार र आवश्यक पूर्वाधार निर्माणको अवस्था अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।
सरकार र जनप्रतिनिधि परिवर्तन भए पनि वडाको विद्युत्, सडक, सिँचाइ तथा खानेपानीको समस्या भने जस्ताको त्यस्तै रहेको स्थानीयको गुनासो छ। विद्युत् विस्तारका लागि पटक-पटक ठेक्का सम्झौता भएतापनि विभिन्न कारणले काम प्रभावित हुँदा हालसम्म वडामा बिजुली पुग्न सकेको छैन।
आदर्श गाउँपालिकाका तत्कालीन अध्यक्ष टेकबहादुर रोकायले आफ्नो कार्यकालभित्र सबै वडामा विद्युत् विस्तार गरी गाउँपालिकालाई ‘उज्यालो पालिका’ घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका थिए!उनले आफ्नो कार्यकालको अन्तिम वर्षसम्म उक्त प्रतिबद्धता पूरा गर्ने बताएतापनि वडा नम्बर ६ मा भने विद्युत् विस्तार हुन सकेन।
यस्तै वर्तमान गाउँपालिका अध्यक्ष गणेश खड्काले निर्वाचनका क्रममा आफू निर्वाचित भएको एक वर्षभित्र वडा नम्बर ६ मा विद्युत् पुर्याउने प्रतिबद्धता जनाएका थिए। तर उनको पाँचवर्षे कार्यकाल पनि अन्तिम चरणमा पुग्न लाग्दा समेत वडामा विद्युत् विस्तार हुने स्पष्ट संकेत नदेखिएपछि स्थानीयवासी निराश बनेका छन्।
निर्वाचन आयोगको वेवसाइटमा गएर हेर्दा झण्डै कुल २ हजार २ सय १० मतदाता रहेको वडा नम्बर ६ मा विद्युत् विस्तार हरेक निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरूको प्रमुख चुनावी एजेन्डा बन्ने गरेको छ। तर स्थानीय सरकारको करिब १० वर्षे कार्यकाल बितिसक्दा समेत वडामा विद्युत् सेवा नपुग्दा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन्।
यसैबीच, वडाको विद्युत् समस्या समाधानका लागि नेकपाका युवा नेता तपेन्द्र बोहराले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। जनताको समस्या समयमै सम्बोधन गराउने उद्देश्यले बोहरा र प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री ओमविक्रम भाट राज्यमन्त्री जानकारी कुँवर पौडेल बीच भेटघाट तथा १५-२० मिनेट बेग्ला बेग्लै छलफल भएको बताइएको छ।
भेटका क्रममा मन्त्री भाट, राज्यमन्त्री जानकी कुँवर पौडेल तथा युवा नेता बोहराबीच वडा नम्बर ६ मा विद्युत् विस्तारको विषयमा गम्भीर छलफल भएको थियो। छलफलपछि प्रदेश सरकार विद्युत् विस्तारका लागि सकारात्मक रहेको बताइएको छ।
मन्त्री भाट र राज्यमन्त्री पौडेलले विद्युत् कार्यालय दिपायलसँग सम्पर्क गरी दसैंभित्र वडा नम्बर ६ मा विद्युत् सेवा विस्तार गरी बत्ती बाल्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको बोहराले बताएका छन्। साथै बिध्युत कार्यालय दिपायलका हाकिमले अहिले बर्षातका समयमा बाटोमा समस्या आएकोले सडक आवतजावत नभएको हुँदा मालसामान ढुवानीमा समस्याका कारण काम अगाडि बढाउन नसकिने तर बाटो खुल्ने बित्तिकै काम अगाडि बढाएर सके दसैं मा नभए तिहार सम्ममा मन्त्रि भाट संग वडामा बत्ती बाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्! यस्तै मन्त्री भाटले विद्युत् कार्यालय दिपायललाई बिध्युत विस्तारका लागि चाहिने आवश्यक सहयोग प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरिएको बताइएको छ।
स्थानीयवासीले भने विगतमा पटक-पटक गरिएका प्रतिबद्धता कार्यान्वयन हुन नसकेको स्मरण गर्दै यसपटक प्रदेश सरकारको पहलबाट वडा नम्बर ६ साँच्चिकै उज्यालो हुने अपेक्षा गरेका छन्।