काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
संसद् सचिवालयका अनुसार दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।
११ जना सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्ने छन्। प्रधानमन्त्रीलाई संसद्मै उभ्याएर कार्यपालिकालाई जवाफदेही बनाउने यो अभ्यासमा यसपटक भारतसँगको सीमा विवाद, सुशासन र समसामयिक राजनीति मुख्य विषय बन्ने देखिएको छ।
लगातार लामो समयसम्म संसद्मा प्रधानमन्त्रीको खोजी भएपछि गत १ गते सभामुख डोलप्रसाद अर्यालले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गरेका थिए। यसैअनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन्।
दलीय प्रतिनिधित्व र प्राप्त समयका आधारमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी, बासना थापा, गीता गुरूङ, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, वर्षमान पुन, प्रमेशकुमार हमाल, हर्कराज राई र खुश्बु ओली गरी जम्मा ११ जना सांसदहरूले आफ्ना प्रश्न दर्ता गराएका छन्।
तर, संसद्मा मुख्य प्रतिपक्षी र अन्य दलहरूले आक्रामक रूपमा प्रश्न दर्ता गराउँदा सत्तारूढ रास्वपाले भने ३ वटा प्रश्न मात्र दर्ता गराएको छ। यसलाई आवश्यकताका आधारमा मात्रै प्रश्न सोधिएको रास्वपा सचेतक प्रकशचन्द्र परियारको दाबी छ।