नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले श्रेष्ठको पार्थिव शरीरमा फूलमाला अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक अनुभवी, निष्ठावान र लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताको अभाव महसुस गरेको बताउनुभयो ।
७९ वर्षको उमेरमा नेता श्रेष्ठको निधन भएपछि नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रद्धाञ्जलीस्वरूप विभिन्न शोक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ । साथै, श्रावण १४ गते बिहीबार देशभरका कांग्रेसका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरू बन्द रहनेछन ।
त्यसैगरी, स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखी नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्ने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ ।
नेता गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले पार्टी संगठन सुदृढीकरणदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । उहाँको निधनप्रति राजनीतिक दलका नेता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन ।